जनकपुरधाम । मधेश प्रदेश सरकारमा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका योगेन्द्र राय यादवलाई साख जोगाउन मुस्किल भएको छ । रौतहट–१ (ख) बाट उम्मेदवारी दिएका राज्यमन्त्री यादवको आगामी निर्वाचनमा हैभिवेटका उम्मेदवारसित प्रतिस्पर्धा हुने भएका छन् । राज्यमन्त्री यादव विरुद्ध पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले उम्मेदवारी दिएका छन् । कृष्ण मुख्यमन्त्रीका दावेदार पनि छन् । राज्यमन्त्री यादव र प्रदेश सभापति यादवबीच प्रतिस्पर्धा हुने आकंलन भइरहदा राजेश चौधरीको प्रवेशले प्रतिस्पर्धा त्रिकोणीय हुने भएको छ । ०७४ को निर्वाचनमा झिनो मतान्तरले पराजित राजेशले आगामी निर्वाचनमा एमालेबाट बागी भएर प्रदेशसभामा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । नेकपा एमाले–जसपा गठबन्धनबाट राज्यमन्त्री योगेन्द्र उम्मेदवार छन् । ०७४ मा राज्यमन्त्री यादवसित २७८ मतले पराजित राजेशको प्रवेशले प्रतिस्पर्धा रोचक हुने ग्यारेन्टी भएको स्थानीय नेताहरुको तर्क छ । ८९५७ मत ल्याएर प्रदेशसभा सदस्यमा योगेन्द्र निर्वाचित हुँदा राजेशले ८६७९ मत प्राप्त गरेका थिए । ०७४ मा नेपाली कांग्रेसबाट प्रदेशसभाबाट राजेशले उम्मेदवारी दिदा कृष्ण प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । ०७४ सालको निर्वाचनमा मधेश आन्दोलनको रापतापमा मधेशवादी दलका उम्मेदवारहरु निर्वाचित भएको बताइएको थियो । तर, यस वर्ष भने परिस्थिति फरक छ । स्थानीय तहको निर्वाचनबाट उत्साहित नेपाली कांग्रेसका उम्मेदवारहरुलाई गठबन्धनमा आवद्ध दलहरुको समर्थन प्राप्त छ । रौतहट–१ (क) मा रहेको स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले जितेको छ । जनता समाजवादी पार्टीले १(ख) का एक उपप्रमुख र तीन वटा वडा जितेको छ । राज्यमन्त्री यादवको गैरराजनीतिक गतिविधिका कारण स्थानीय तहमा पार्टीले क्षति व्यहोर्नुपरेको आरोप लाग्दै आएको छ । उनले गुटबन्दी गरेर पार्टीलाई कमजोर पारेको आरोप जसपा जिल्ला कार्य समितिले लगाउदै आएको छ । योगेन्द्र प्रदेश सरकारमा शुरुदेखि राज्यमन्त्रीको भूमिकामा छन् । ०७४ मा मधेश आन्दोलनको कारण उनी निर्वाचित भएको दावी गर्दै जसपा रौतहटका नेताहरुले यस वर्ष भने उनलाई सहज नरहेको स्वीकार गर्छन् । प्रतिनिधिसभातर्पm तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) का अनिल कुमार झा निर्वाचित हुँदा प्रदेशसभा (ख) बाट तत्कालीन संघीय समाजवादी फोरम नेपालका योगेन्द्र यादव विजयी भएका थिए । अनिल कुमार झाले नेपाली कांग्रेसका उम्मेदवार कृष्ण यादवलाई पराजित गरेका थिए । तर, आगामी निर्वाचनमा रौतहट–१ बाट नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल उम्मेदवार छन् । प्रदेशसभा(ख) तर्पm नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण उम्मेदवार छन् । स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्ने हो भने सत्ता गठबन्धन प्रतिनिधि र प्रदेशसभामा बलियो अवस्थामा छ । गौर नगरपालिका, गढिमाई नगरपालिका, राजदेवी नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका र माधवनारायण नगरपालिका रौतहट–१ म रहेको छ । प्रदेशसभा (ख) मा भने दुर्गाभगवती गापाका वडा १ देखि ४ सम्म, यमुनामाई गापाका वडा १ र २, माधवनारायण नपाको वडा १ देखि ९ सम्म, गढिमाई नपाका वडा नं. ६,७,८ र गरुडा नगरपालिकाका वडा नं. १ गरी १९ वटा वडा रहेको छ । जसमा गढीमाई नगरपालिकाको उपप्रमुखमा जसपाका उम्मेदवार विजयी भएकी छन् । पालिकाहरुमा सत्ता गठबन्धनको मतले पनि राज्यमन्त्री योगेन्द्रलाई असहज बनाएको छ । कृष्ण भने आगामी चुनावमा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । सत्रा गठबन्धनका उम्मेदवार माधव नेपाल विरुद्ध नेकपा एमाले गठबन्धनबाट गौरका पूर्व मेयर अजय कुमार गुप्ताले उम्मेदवारी दिएका छन् ।

रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले नै रौतहट–१ को ‘ख’बाट स्वतन्त्रबाट राजेश चौधरीलाई उठाएका छन् । प्रभु साहको समर्थन हुँदा राजेश पनि प्रतिस्पर्धामा रहेको बताइन्छ ।

सम्बन्धित खवर