मलंगवा । सर्लाहीमा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिँदा पाँच दलीय गठवन्धनमा असन्तुष्टी चुलिएको छ ।

जिल्लामा गठवन्धनभित्र आठ जना बागी उम्मेदवार रहेका छन् । ती सबै माओवादी केन्द्रका हुन् ।

मङ्सिर ४ को निर्वाचनका लागि उम्मेदवारी दर्तापछि असोज २५ गते सदरमुकाम मलङ्गवामा बसेको गठवन्धनको बैठकले २६ गते दिउँसो १ बजेसम्म आ–आफ्नो दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । आग्रह बमोजिम सर्लाही क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका शियाराम रायले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेसबाट राय एक जना बागी उम्मेदवार हुन् । माओवादीका आठ जना बागी उम्मेदवारले भने गठवन्धनको बैठक र पार्टीका नेताहरुले बारम्बार आग्रह गर्दा समेत उम्मेदवारी फिर्ता लिएनन् ।

गठवन्धनभित्र रहेका अन्य दलका नेताले माओवादीका बागी उम्मेदवारकै कारण गठवन्धन नै टुट्न सक्ने अवस्था आएको तर्क गर्न थालेका छन् । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले माओवादीले आफ्ना बागीलाई ‘ब्याक’ नगराए सर्लाहीमा गठवन्धन रहिरहन नसक्ने बताए ।

हाम्रो एक जना बागी हुनुहुन्थ्यो, उहाँले उम्मेदवारी फिर्ता लिइसक्नु भएको छ, तर माओवादीका आठ जनामा आठै जनाले उम्मेदवारी फिर्ता लिनुभएको छैन्, यो अवस्थामा गठवन्धन अप्ठेरोमा परेको छ, कांग्रेस जिल्ला सभापति सिंहले भने, माओवादीले बागी फिर्ता नलिए कांग्रेस गठवन्धनमा बसिरहन सक्दैन । यो विषय शिर्षस्त नेताहरुलाई पनि भनिसकेका छौँ ।

कांग्रेस जिल्ला सभापति सिंहले गठवन्धनमा भागबण्डा हुँदा स्थानीय तह निर्वाचनमा कांग्रेसले सबै पालिका जितेको क्षेत्र नं. १ र २ मा कांग्रेसलाई टिकट नै नदिएर अन्याय भएको गुनासो गरे । सर्लाहीमा पाँच दलीय गठवन्धनमा चार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ लोसपा, क्षेत्र नं. २ र ३ माओवादी केन्द्र र क्षेत्र नं. ४ नेपाली कांग्रेसले लिएको छ ।

आठवटा प्रदेश सभा निर्वाचन क्षेत्र पनि कांग्रेस, माओवादी, लोसपा र नेकपा (एकीकृत समाजवादी) पार्टीले बाँडफाँड गरेर लिएका छन् । सर्लाहीमा माओवादीबाट क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्यमा मधुमाला यादवले बागी उम्मेदवारी दिएकी छन् ।

मधुमाला माओवादी नेता शिवपुजन रायकी छोरी हुन् । यस्तै, क्षेत्र नं. १ (क) मा रामचन्द्र सिंह कुशवाहा, १ (ख) मा राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) मा जवाहारलाल कुशवाहले बागी उम्मेदवारी दिएका छन् ।

त्यसैगरी क्षेत्र नं. ४ मा प्रदेश सभा सदस्यतर्फ (क) मा प्रितम यादव, (ख) मा श्रीचन यादव, महेन्द्र यादव र अनिता यादवले बागी उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन नमानेपछि कारवाहीका लागि केन्द्रमा लेखि पठाइएको बताए ।

जिल्ला कमिटीले आग्रह गर्दा कसैले पनि उम्मेदवारी फिर्ता लिनुभएन, त्यसपछि केन्द्रमा लेखेर पठाएका छौँ, काफ्लेले भने । माओवादी जिल्ला इन्चार्ज काफ्लेले माओवादीका मात्रै बागी उम्मेदवार रहेकाले उनीहरुको उम्मेदवारी फिर्ता नभए गठवन्धनभित्र समस्या आउने कुरा आफूहरुले पनि पार्टीका शिर्षस्त नेताहरुलाई भनिसकेको बताए ।

सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले पनि उम्मेदवारी दिएका छन् । तर, कांग्रेस सर्लाहीले नेता सिंहलाई तीन महिना अघि नै पार्टीबाट निष्काशन गरिएकाले उनलाई कांग्रेसको बागी भन्न नमिल्ने बताउँदै आएका छन् ।

सम्बन्धित खवर