काठमाण्डौ । सत्तारुढ गठबन्धनले आगामी कार्तिक ५ गते जनकपुरधाममा संयुक्त चुनावी भेला गर्ने भएको छ । गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको शनिबार बसेको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो ।
कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै बुटवलमा, ५ गते जनकपुरधाम र विराटनगर भेला गर्ने भएको छ । जनकपुरधाममा हुने भेलाको समन्वय नेपाली कांग्रेसले गर्ने भएको छ ।
६ गते सुर्खेतमा हुने भेलाको नेपाली कांग्रेसले समन्वय गर्ने छ ।
६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ ।
चुनावी तालमेल गरेका गठबन्धन दलले आसन्न निर्वाचनलाई लक्षित गरेर आगामी कार्तिक पहिलो साता शीर्ष नेताहरुको उपस्थितिमा प्रदेशस्तरीय संयुक्त भेला गर्न लागेका हुन् ।
भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कात्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ ।
गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने निर्णय गरेको छ । कात्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ ।
सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने छ । काठमाडौंमा कात्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा वाग्मती प्रदेशस्तरीय संयुक्त भेला हुने गठबन्धनले जनाएको छ । भेलाको अध्यक्षता समन्वय गर्ने दलका नेताले गर्ने भएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech