सर्लाही । स्थानीय तहको निर्वाचनमा सर्लाहीको संसदीय क्षेत्र १ मा पर्ने सबै स्थानीय तहको प्रमुख नेपाली कांग्रेसले जित्यो । सो क्षेत्रमा पर्ने लालबन्दी, हरिपुर, ईश्वरपुर नगरपालिकाको प्रमुख र उपप्रमुख तथा चन्द्रनगर गाउँपालिकाको प्रमुखमा कांग्रेसका उम्मेवारले जितेका छन् ।
सबै स्थानीय तहमा जितेको सर्लाही–१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने कांग्रेसका एउटै उम्मेदवार छैनन् । सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश ‘क’ मा र प्रदेश ‘ख’ मा नेकपा एकीकृत समाजवादीले टिकट पाएपछि सबै स्थानीय तह जितेको क्षेत्रमै कांग्रेस उम्मेदवारविहीन भएको हो ।
स्थानीय तहको चुनावबाट ६ महिनाअघि कांग्रेस बलियो रहेको ताजा जनादेशबाट पुष्टि हुँदाहुँदै क्षेत्र खाली हुनु दुःखद् भएको स्थानीय कांग्रेस कार्यकर्ताको गुनासो छ । ‘यो त धान फलेपछि काट्ने बेलामा अर्कैलाई खेत दिएजस्तो भो,’ क्षेत्र १ का कांग्रेस नेता एवम् प्रदेश महाधिवेशन प्रतिनिधि राजु राई भन्छन्,‘आफ्नो बलियो ठाउँ नेतृत्वले भागबन्डाका नाममा छाड्नु हुँदैन थियो । यसपटक यो क्षेत्र कांग्रेसले लिएको भए सहजै जित हुने र दीर्घकालिन रूपमा कांग्रेसको किल्ला हुने सम्भावना थियो ।’
नेतृत्वले यस्तो कुरामा ध्यान नदिँदा संगठन कमजोर हुनसक्ने राईको तर्क छ । कांग्रेसका आम कार्यकर्ता गठबन्धनमा एउटै भाग नपाउँदा निकै दुःखी भएको राईले बताए । स्थानीय चुनावमा नेतृत्व मात्र नभएर वडासम्मकै मतमा पनि कांग्रेस अघि छ । कांग्रेसको पक्षमा प्रमाणसहितको जनमत हुँदाहुँदै क्षेत्र खाली हुने अवस्था आउँदा दुःख लाग्नु स्वभाविक भएको कांग्रेसका क्षेत्रीय अध्यक्ष हरि लुंगेली बताउँछन् ।
‘पार्टीले निर्णय गरेपछि त्यसको पालना गर्नु त छँदैछ,’ उनले भने,‘तर, कांग्रेसको बलियो क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार नहुँदा कांग्रेसका मतदाता असन्तुष्ट हुनु स्वभाविक हो । ताजा जनादेश (स्थानीय चुनाव परिणाम) ले कांग्रेस बलियो रहेको पुष्टि भएको अवस्थामा क्षेत्र नै उम्मेदवार शून्य बनाउन हुदैनथ्यो ।’
Copyright © 2024, All Rights Reserved | Developed By ProTech