जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साहलाई निलम्बन गरेको छ ।

साहले गत असोज २१ गते महोत्तरी–३ को क्षेत्रीय कार्यक्रममा अमर्यादित र अभद्र क्रियाकलाप गरेको भन्दै पार्टीले साहलाई निलम्बित गरेको छ ।

‘यही २०७९ आश्विन २१ गतेका दिन महोत्तरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साह लगायतका केही व्यक्तिहरूबाट भएको अमर्यादित र अभद्र क्रियाकलापले गर्दा सो दिनको भेला मात्र भाँडिएन, उक्त दिन खास गरी महिला माथि गरिएको अपमान, हातपात तथा अभद्र कार्यप्रति पार्टीको ध्यानाकर्षण भएको छ’, केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्णबहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

पार्टी विधि, पद्धति विपरीत अनुशासनहीन कार्य गर्ने, महिला नेतृहरुमाथि हातपात तथा अपमान एवम् अभद्र व्यवहार गर्ने साहलाई पार्टी विधानले गरेको व्यवस्था बमोजिम निलम्बन गरिएको पार्टीले जनाएको छ । यस घटनाको छानबिन गरी पार्टी आवश्यक निर्णय लिने समेत जानकारी दिइएको छ ।

नेता साहले स्थानीय महिला नेतृ र कार्यकर्तामाथि अभद्र टिप्पणी गर्नुका साथै गालीगलौज समेत गरेका थिए ।

जसपामा आवद्ध महिला नेतृहरुले सार्वजनिक कार्यक्रममा गरिएको व्यवहारको सामाजिक संजालमार्पmत विरोध गरेका थिए ।

नेता स्थानीय तहको निर्वाचनमा महोत्तरी जिल्ला समन्वय समितिको प्रमुखमा पराजित भएका थिए ।

सम्बन्धित खवर