वीरगंज । बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति दाया नगरी सत्ता गठबन्धनको पक्षमा लाग्न सत्ता गठबन्धनका प्रमुख घटक दल नेपाली कांग्रेसका नेताहरुले अपिल गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियाले पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दिएका उम्मेदवार प्रति दया नगरी सत्ता गठनबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।

नेपाल शिक्षक संघ पर्साले वीरगञ्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले बागीको पक्षमा नलाग्न कार्यकर्तालाई आग्रह गरे ।

‘कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), लोसपासहितको पाँच दलिय गठबन्धनबाट भएका उमेदवारलाई मात्र सहयोग गर्नुस्, गठबन्धनबाट बाहिर गएर स्वतन्त्र लडेका उमेदवारलाई दया देखाउन जरुरी छैन,’ कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले भने, ‘कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउने गरि लाग्नुहोस् ।’

पर्सामा सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ बाट लोसपाका लक्ष्मणलाल कर्ण, क्षेत्र नम्बर २ बाट अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट सुरेन्द्रप्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजाल उम्मेदवार छन् ।

पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका रिजालले आचारसंहितालाई ख्यालमा राख्दै चुनावी अभियानमा जुट्न पनि शिक्षकहरुलाई आग्रह गरे ।

यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य अजय चौरसियाले फेरि पनि पर्सा जिल्लालाई कांग्रेसको गढ बनाउने गरि चुनावी अभीयानमा जुट्न आह्वान गरे ।

शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप जैसवारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार जनार्दन सिंह क्षेत्री, क्षेत्र नम्बर १ (ख) उम्मेदवार एवम् जिल्ला उपसभापति रामनारायण कुर्मी, क्षेत्र नम्बर २ को (क) का उम्मेदवार श्याम पटेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर