जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले पार्टीका उम्मेदवारलाई सहयोग गर्ने भएका छन् । कांगे्रस सम्मिलित सत्ता गठबन्धनबाट धनुषा–४(क) बाट उम्मेदवारी दिएका शेषनारायण यादवसहित पार्टीका नेताहरु आइतबार बिहान डा. यादवको नीजि निवास सपही पुगेका थिए । उनी आइतबार बिहान नै काठमाण्डौबाट गृहनगर सपही आइपुगेका हुन् । उनी आएको खबर प्राप्त भए लगत्तै उम्मेदवार शेषनारायणले पार्टीका नेतासहित डा. यादवको निवासमा पुगेका थिए । उम्मेदवार यादवलाई डा. यादवले निर्वाचनमा सहयोग गर्ने आश्वासन दिएका छन् । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा समानुपातिक सूचीमा तल झारेपछि रुष्ट हुँदै डा. यादवले नाम फिर्ता लिएका थिए । समानुपातिकमा नाम पछाडि पारेपछि रुष्ट बनेका डा. यादवले पार्टीका उम्मेदवारलाई सहयोग गर्ने÷नगर्नेमा शंका थियो । उनी केही दिनदेखि काठमाण्डौमै थिए । पार्टीका उम्मेदवारहरुले गएको आइतबार मनोनयन पत्र दर्ता गराउँदा उनी भने काठमाण्डौमा थिए । काठमाण्डौबाट गृह नगर फर्के लगत्तै पार्टीका नेता कार्यकर्ता, शुभचिन्तकहरु उनको नीजि निवास सपही पुगेका थिए । डा. यादवले चुनाव प्रचार गर्ने, घरदैलो कार्यक्रममा सहभागी हुने, चुनावी कार्यक्रमहरुमा समेत सहभागी हुने पार्टीबाट उम्मेदवारी दिएका शेषनारायणलाई आश्वासन दिए । पार्टीको नेतृत्व तहबाट रुष्ट डा. यादवले चुनावमा सहयोग गर्ने प्रतिबद्धता जनाएको एक जना नेताले बताए । डा. यादवलाई भेट्न उम्मेदवार शेषनारायणसहित धिरेन्द्र मोहन झा, बजरंग कुमार यादव लगायतका कांग्रेसीहरु उनको नीजि निवास सपही पुगेका थिए । यता, ४(क) बाट उम्मेदवारी दिएका शेषनारायणले आइतबार विभिन्न वडाहरुमा कार्यकर्ता भेटघाट र प्रचार कार्यालयको उद्घाटन गरेका छन् । जनकपुरधाम–१३ मा आइतबार साँझ पार्टीको प्रचार कार्यालय उम्मेदवार शेषनारायणले उद्घाटन गरे । यसअघि आइतबार बिहान कुर्था र वडा नं. १४ मा पनि कार्यकर्ता भेटघाट कार्यक्रम गरेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech