राजविराज । मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशको सप्तरी–२ चर्चामा छ । सो क्षेत्रबाट मधेशका दुई हेभिवेटका नेता प्रतिस्पर्धामा छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जयप्रकाश ठाकुरको उम्मेदवारीले सप्तरी–२ लाई हाइप्रोफाइल बनाएको हो ।

अध्यक्ष यादवलाई प्रमुख विपक्षी एमालेले समर्थन गरेको छ । लोसपाका ठाकुरलाई सत्तारूढ गठबन्धनको सहयोग छ । तर, यादव र ठाकुरको गठबन्धनलाई डा. राउतले कडा चुनौती दिएका छन् । डा. राउतलाई जिताउनको लागि केही युवाहरु सक्रिय छन् ।

जसपा र लोसपा मधेसको राजनीतिमा बलियो पकड भएका पार्टी हुन् । तर, मधेश राजनीतिमा अघिल्लोपटक सीके राउत नेतृत्वको जनमत पार्टी पनि उदाउँदै गएको छ । गएको बैशाख ३१ म सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साहजनक परिणाम ल्याउन नसके पनि जनमत पार्टीको प्रभाव सप्तरी जिल्लामा देखिएको छ । सप्तरीमा जनमतले दुई पालिका जितेको छ ।

सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. राउत आफैं उम्मेदवार भएपछि यादवलाई ०७४ सालको निर्वाचनको जित दोहो¥याउन त्यति सहज छैन् । ०७४ सालमा यादवलाई तत्कालीन राजपाले समर्थन गरेको थियो । तर, राजपाकै नयाँ रूप लोसपा आफैं अहिले चुनावी मैदानमा छ । लोसपालाई सत्ता गठबन्धनको समर्थन छ ।

०७४ सालको निर्वाचनमा यादवले २१ हजार ६ सय २० मत ल्याउँदा वामगठबन्धनका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए । राजपाका ठाकुरले भने यादवविरुद्व बागी उम्मेदवारी दिएका थिए । त्यसबेला उनले ९ हजार ४ सय ५९ मत पाएका थिए । राउत भने पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुँदै छन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा कुरा नमिलेर एमालेसँग तालमेल गरेका यादवका लागि यो चुनावमा ठाकुर र राउत दुवै चुनौती बनेका छन् । सुरुदेखि नै सत्ता गठबन्धनमा रहेका यादव अन्तिम समयमा एमालेसँग तालमेल गर्न पुगेका थिए ।

गत निर्वाचनमा मधेसकेन्द्रित दल मिल्दा यहाँका ३२ मध्ये १९ निर्वाचन क्षेत्रमा मधेसकेन्द्रित दलकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले ५ र नेकपा एमालेले २ सिट मात्र जितेका थिए । तर, यसपटक मधेसकेन्द्रित दलभित्रको विभाजनले चुनावी परिणाममा अन्य दलको समेत उत्तिकै प्रभुत्व हुने देखिन्छ ।

 

सम्बन्धित खवर