जनकपुरधाम । धनुषा–४ बाट सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र यादवले एमालेलाई संघीयता र लोकतन्त्र विरोधी पार्टी बताएका छन् । धनुषा–४(क) को मिथिला बिहारी नगरपालिका–९ स्थित सोमबार चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेदवार यादवले कम्युनिष्ट शासन रहेको कुनै पनि मुलुकमा संघीय व्यवस्था नरहेको दावी गरे ।
नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका उम्मेदवार यादवले संघीयता र लोकतन्त्रको रक्षाका लागी पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
संघीयता र लोकतन्त्र समाप्त गर्ने दाउँमा प्रतिगामी शक्ति लागि परेकोले यसकोे रक्षाका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गर्नुपर्ने तर्क उनले गरे ।
नेकपा माओवादीले नेपाली काँग्रेसलाई वा नेपाली काँग्रेसले नेकपा मओवादीलाई कसरी भोट हाल्ने विषयमा अन्योलमा नपरी पाँच दलीय गठबन्धनका उम्मेदवारलाई आफनै पार्टीको उम्मेदवार बुझेर मतदान गर्न उनले नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा ४(१) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका शेषनारायण यादवले जसपा नेपालले मधेश र मधेशीको अधिकार सुनिश्चित गर्न नसक्ने भएकोले आफु जसपा परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेको बताए ।
सत्ता प्राप्तिको लागि जसपा जस्तो सुकै मधेश विरोधी काम गर्न पछाडी पर्दैन, उनले भने–अघिल्लो उदाहरणको रुपमा नागरिकता विधेयक प्रमाणीकरण रोक्न लगाएका मधेश विरोधी एमाले सँग चुनावी तालमेल गर्नु हो । नेपाली काँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले लोकतन्त्र र संघीयता संस्थागत गर्न सक्ने भएकोले गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न उनले आग्रह गरे ।
नेपाली काँग्रेस मिथिला बिहारी नगरपालिका वडा नं. ९ मा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्रमोहन यादवले पार्टीका उम्मेदवारलाई सहयोग गर्न सबैमा आग्रह गरे । मुलुकमा संघीयता र लोकतन्त्रलाई बलियो पार्ने एक मात्र पार्टी कांगे्रस रहेकोले पार्टीलाई थप बलियो बनाउँदै अघि बढनुपर्ने धारणा राखे ।
धनुषा ४ का क्षेत्रीय सभापति कुमरकान्त झा, नेपाली काँग्रेस मिथिला बिहारी नगर सभापति राजेन्द्र यादव, नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि धिरेन्द्र मोहन झा, कोमलकान्त झा लगायतले मन्तव्य राखेका थिए ।
यस अघि सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलियामा पनि निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गरिएको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech