जनकपुरधाम । नेकपा एमालेबाट समानुपातिकतर्फका उम्मेदवार फुल कुमारी महतोले नेपाली कांग्रेस मा प्रवेश गरेकी छन् ।
महतोलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवम् धनुषा–४ का उम्मेदवार महेन्द्र यादव र ४(क) का उम्मेदवार शेषनारायण यादवले पार्टी प्रवेश गराएका हुन् । नेतृ महतोलाई पुष्पमाला लगाएर पार्टीमा प्रवेश गराएका छन् ।
नेकपा एमालेबाट प्रदेश सांसदको लागि समानुपातिक तर्फ उम्मेदवार बनेकी नेतृ महतो काँग्रेसमा प्रवेश गरेकी हुन् ।
पार्टीबाट सिफारिस भई नेकपा एमालेको बन्दसूचिमा समानुपातिक उम्मेदवारको मधेशी तर्फ ९ नम्बरमा रहेकी महतो काँग्रेसमा प्रवेश गरेकी हुन् । महतो अखिल महिला संघको सचिवालय सदस्य समेत थिइन् ।
तानाशाही प्रवृतिको विरोध गर्दै एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेको महतोले बताईन् ।
‘मुलुकमा सबैभन्दा बढी नागरिकताबिहीन मधेशमै छन् र अहिले मधेशको मुख्य मुद्दा पनि नागरिकता नै हो, उनले भनिन्–नागरिकता विषयमा पार्टी सकारात्मक नभएकोले परित्याग गरेको हुँ ।
पार्टीमा नागरिकताको विषयमा सकारात्मक हुन पटकपटक आग्रह गर्दा पनि सकारात्मक नहुँदा सो पार्टीमा बस्नुभन्दा परित्याग गर्नु उचित ठानेर मधेसको पक्षधर लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एक मात्र पार्टी काँग्रेस रहेको हुँदा यसमा प्रवेश गरेको उनले बताइन् ।
राजनीतिमा स्वार्थ हुनु भएन । जनताको सुखदुखमा साथ रहनु एउटा सच्चा राजनेताको काम भएकोले सो प्रमाणित गर्न पनि मधेशको पक्षमा उभेर काँग्रेसमा प्रवेश गरेको उनको भनाइ छ ।
काँग्रेस सहमहामन्त्री यादवले पार्टीमा प्रवेश गराउँदै महतोलाई मधेसको पक्षमा वकालत गर्न काँग्रेसमा प्रवेश गरेको भन्दै बधाई दिएका थिए ।
जनकपुरधाम उपमहानगरपालिका २२ मा आयोजित काँग्रेसको घर दैलो अभियानको क्रममा उनी कांग्रेस प्रवेश गरेकी हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech