बागमती । सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ ।

लुटेरा समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि ४ गोली प्रहार गरेका हुन् । बुधबार बिहान साँढे १० बजे तिर ३ जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालय भित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए । प्रतिकार गर्ने बितिकै लुटेरा समूहले आफूमाथि ४ गोली प्रहार गरेको घाईते कार्कीले बताए । गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाईकलमा चढेर दक्षिणतर्फ भागेका छन् । लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा यकिन भईनसकेको सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।

तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं पठाईएको छ । लालबन्दी–२ जुटपानी निवासी कार्कीलाई ४ गोली लागेपनि शरिरको संवेदनशिल भाग भने जोगिएकोले धेरै खतरा नदेखिएको र उनी बोलिरहेको सरस्वती अस्पतालका सञ्चालक डा. राजिब साहले जानकारी दिए ।

लुटेरा समूहले कार्कीमाथि कार्यालय खोल्नेबित्तिकै आक्रमण गरेको घाइतेलाई उदृत गर्दै सहकारीका कर्मचारी दिनेश श्रेष्ठले बताए ।

‘उनीहरूले बिहान कार्यालय खोलेलगत्तै आक्रमण गरे ।’ घाइतेलाई उदृत गर्दै श्रेष्ठले भने, ‘कार्कीले ब्यागमा लगेको पैसा ड्रमा खन्याई सकेकोले उनीहरूले ब्यागमात्र लिएर गएको प्रारम्भिक जानकारी आएको छ ।’

लुटेरा समूहले केही दिनदेखि उक्त शाखामा कार्यरत कार्कीको निगरानी गरिरहेको आशंका गरिएको छ । मंगलबार मात्र पनि लुटेरा समूह सोही कार्यालय आसपास घुमिरहेका देखिएको छ । उनीहरूको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित खवर