जनकपुरधाम । शेरे धनुषाले चिनिने पूर्वमन्त्री हेमबहादुर मल्लको राजनीति विरासत जोगाउन छोरा मनोज मल्ललाई सकस भएको छ । मनोज मल्ल आगामी निर्वाचनमा धनुषा–१ मा राप्रपाबाट उम्मेदवारी दिएका छन् । अन्य क्षेत्रमा राप्रपालाई नेकपा एमालेले सघाएपनि धनुषा–१ मा भने एक्लै चुनावी मैदानमा उत्रेको छ । २०७० को दोश्रो संविधानसभा निर्वाचन र २०७४ को संसदीय चुनावमा पराजित भएका नेता मल्ल आगामी निर्वाचनमा पनि उम्मेदवारी दिएका हुन् । २०७० मा राप्रपाबाट चुनाव लडेका मल्ल २०७० मा स्वतन्त्रबाट उठेका थिए ।

२०४३ को आम (राष्ट्रिय पञ्चायत सदस्य) निर्वाचनमा धनुषाबाट निर्वाचित मनोज मल्लको बुवा हेमबहादुर मल्लले बनाएको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन् ।

त्यो निर्वाचनमा मल्ल ९३ हजार १ सय ४९ मत प्राप्त गरी राष्ट्रिय पञ्चायत (पञ्चायतकालीन संसद) सदस्यमा विजयी भएका थिए । आफूमात्र अत्याधिक मतका साथ विजयी भएनन्, आफ्नी श्रीमती शारदा मल्ललाई पनि हेमबहादुरले विजयी बनाएर राष्ट्रिय पञ्चायतमा पुर्याए ।

 

त्यसयता ५ पटक ‘स्थानीय’ र ६ पटक ‘संसद’ (संविधान सभा समेत) ११ पटक निर्वाचन भइसकेका छन् । जनसंख्या वृद्धिसँगै प्रत्येक निर्वाचनमा मतदाताको संख्या पनि बढेको छ ।

तर, हेमबहादुर मल्लले प्राप्त गरेको मतलाई कसैले उछिन्न सकेका छैनन् । सम्भवतः ३० वैशाख (२०७९) मा हुने स्थानीय तहको दोस्रो निर्वाचनमा पनि कसैले त्यो रेकर्ड तोड्न सक्ने छैन् ।

पञ्चायतकालमा ‘बालिग मताधिकार’ का आधारमा पहिलो आम निर्वाचन २०३८ मा भएको थियो । त्यो निर्वाचनमा सर्वाधिक मत प्राप्त गरी विजयी हुने उम्मेदवार मल्ल नै थिए । २ लाख २७ हजार १३ मतदाता रहेको धनुषाबाट ७६ हजार २ सय ७० मत प्राप्त गरी उनी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

त्यो निर्वाचनमा सर्वाधिक मत प्राप्त गरी विजयी बनेपछि उनको परिचय ‘शेरे धनुषा’ बन्यो ।

‘धनुषाको शेर’ भन्ने यो परिचयलाई उनले २०४३ को निर्वाचनमा सर्वाधिक ९३ हजार १ सय ४९ मत प्राप्त गरी कायमै राखे । उनी अन्तिम पटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका थिए । हेमबहादुर मल्लको २०६८ जेठमा देहावसान पछि उनको राजनीति विरासतलाई परिवारका सदस्यहरुले सम्हाले । छोरा मनोज मल्ल २ पटक चुनावमा उठेर पराजयको सामना गरे भने बुहारी प्रेक्षा मल्ल २०७४ को स्थानीय चुनावमा धनुषाधाम नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर पराजित भइन् । धनुषाधाम–३ पुख्र्यौली घर रहेको मनोज मल्लले आगामी निर्वाचनमा मतदाताको सहयोग पाउनेमा विश्वस्त छन् । ‘हामी परिवारका सदस्यहरु अहिले राजनीतिमा जहाँ–जहाँ छौँ, त्यो बुबाकै कारणले भएको हो,’ मनोज भन्छन्, ‘बुबाका कारण धनुषाका मानिसहरु अहिले पनि हामीलाई स्नेह गर्छन् ।

सम्बन्धित खवर