जनकपुरधाम । बाल संरक्षण सम्बन्धी ऐन, कानुनको कार्यान्वयन नहुँदा उनीहरु शोषणमा परेको सरोकारबालाहरुले बताएका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले बालविवाह न्युनिकरण परियोजना अन्तर्गत बुधबार जनकपुरमा आयोजना गरेको रिपोर्ट भएका बाल संरक्षणका मुद्दाहरु तथा कानूनी संरक्षण सम्बन्धी प्रहरी तथा कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धि अभिमुखिकरण कार्यक्रममा सरोकारबालाहरुले यस्तो बताए । बाल संरक्षण सम्बन्धी ऐन, कानुन निर्माण भएको छ, शहीदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंहले भनिन्–तर, कार्यान्वयनको पाटो कमजोर भयो । कानुन कार्यान्वयनमा कठोर नभएसम्म त्यसको प्रभावकारिता साबित हुन नसक्ने उनको भनाई थियो । आसमान नेपालका साधारण सदस्य युसुफ राइनको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिकाको अधिकार सुरक्षित भयो भने उनीहरु संरक्षित हुने तर्क बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका झमकेश्वर ओझाले बताए । कार्यक्रममा उनले बालबालिका बालअधिकार तथा बाल संरक्षणका सवालहरु विषयक प्रस्तुतिकरण गर्दै ओझाले मधेश प्रदेशमा बालबालिकाको अवस्थाबारे प्रकाश पारेका थिए ।

सो अवसरमा कानुन व्यवसायी रेखा झाले बाल संरक्षण सम्बन्धी कानुनबारे प्रस्तुतिकरण गरेकी थिइन् । झाले मुलुकी देवानी (संहिता) ऐन २०७४ मा बालसंरक्षण सम्बन्धी मुख्य प्रावधानबारे जानकारी गराएकी थिइन् ।

हिंसात्मक अनुशासन, बालबिवाह, बाल श्रम, बेचबिखन, महिला र बालिका विरुद्धको हिंसा, बालबालिकालाई अनावश्यक रुपमा अनाथालय वा सुधार गृहमा राखिनु र बाल–मैत्री तथा लैंगिक संवेदनशील न्याय सेवामा अपुरो पहुंच जस्ता बाल संरक्षणसंग सम्बन्धित मुद्दाहरू रहेको झाले बताइन् ।

सो अवसरमा विदेह नगरपालिकाकी उपप्रमुख आशा देवी झा, जनकन्दनी गाउँपालिका–५ का वडाध्यक्ष अशोक कुमार मण्डल, शहीदनगर नगरपालिकाका शिक्षा संयोजक विश्वनाथ यादव, आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारी, लाइफ नेपालका जिल्ला संयोजक श्रीप्रसाद मण्डल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर