जनकपुरधाम । खेलाडीको संरक्षण, सम्बद्र्धन एवम् प्रबद्र्धन गर्ने उद्येश्यले धनुषाको मिथिला बिहारी नगरपालिकाले शुभ दीपावली तथा छठ पर्वको अवसरमा मेयरकप अन्तर जिल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आउँदो कात्तिक ८ गतेदेखि शुरु हुने प्रतियोगितामा टीम दर्ताको लागि कात्तिक ७ गते मध्यान्हसम्मको समयसीमा तोकिएको छ ।

मिथिला बिहारी नगरपालिकाले आयोजना गर्न लागेको प्रतियोगितामा विजेता टोलीलाई नगद एक लाख ३५ हजारसहित ट्रफी प्रदान गरिने भएको छ । उपविजेता टोलीलाई नगद ९० हजारसहित ट्रफी र तृत्तिय हुने टोलीलाई नगद ५५ हजारसहित ट्रफी प्रदान गरिने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

नेपाल भलिवल खेल संघको नियमानुसार खेलाइने प्रतियोगितामा सहभागी हुने टोलीका ९ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना टिम म्यानेजर गरी ११ जनाको खाना, खाजा, बास तथा सार्वजनिक यातायातको भाडा अनुसार यातायात खर्च उपलब्ध गराउने भएको छ । टोलीमा बढीमा दुई जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी राख्न पाउने वरिष्ठ प्रशिक्षक भरत यादवले बताए । यादवका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीले सम्बन्धित जिल्लाको परिचय खुल्ने कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ । मिथिला बिहारी नगरपालिकाको तारापट्टी चोक र कचुरी चोकमा छठ पर्वको अवसरमा विशाल महावीर झण्डा मेलाको आयोजना हुने गरेको छ । प्रत्येक वर्ष छठको भोलीपल्ट अर्थात पारनको दिनदेखि दुवै स्थानमा झण्डा मेलाको आयोजना हुने गरेको छ । यस वर्षको भलिवल प्रतियोगिता र महावीर झण्डा मेला आमचुनावको कारण विशेष हुने भएको छ ।

सम्बन्धित खवर