जनकपुरधाम । बिरामी ओसार्न प्रयोग हुने एम्बुलेन्सबाट धनुषामा तस्करीको सामान ढुवानी भइरहेको तथ्य खुलेको छ ।

धनुषा प्रहरीले तस्करीको सामानसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिरिएको हो ।

भन्सार छली तस्करी गरेको सामानसहित बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कटरैतस्थित प्रहरीले मे.१ च. ३५० नम्बरको एम्बुलेन्सको चेकजाँच गर्दा भन्सार छलिका सामान बरामद गरेको थियो ।

सो एम्बुलेन्स सोनामाई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा संचालित रहेको छ । भारतको जयनगरबाट जनकपुर तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना जन्य सामानहरु तथा बिभिन्न किसिमका बारुदजन्य सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

एम्बुलेन्स तथा सरसमानहरु कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र बोलेरो एम्बुलेन्सको २५ लाख २५ हजार मुल्याङकन कायम गरिएको छ । यस्तै,

निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप धनुषा प्रहरीले बुधबार राति जनकपुरधाम–६ स्थित अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सामानसहित मोटरसाइकल बरामद गरेको छ ।

भन्सार छली चोरी पैठारी गरी ज.७ प.२९३८ र ज.९ प.१९२२ नं. को मोटरसाइकलमा किराना खद्यान्न लगायतको सामान भारतबाट नेपालतर्फ ल्याई राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । २ लाख १० हजार बराबरको सामान बरामद गरी आवश्यक कार्वाहीको लागि बिहीबार भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खवर