कलैया । बाराको एक उद्योगमा मजदूर र प्रहरी बीच झडप भएको छ । झडपको क्रममा मजदूरले ढुंगामुढा गर्दा कम्तीमा एक दर्जन प्रहरी घाइते भएका छन् । प्रहरीले झडप नियन्त्रण लिने क्रममा १ राउण्ड फायर र ३१ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरास्थित त्रिवेणी स्पिनिंग उद्योगमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्यास प्रहार गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

घाइते मध्ये ११ जनाको अवस्था सामान्य छ भने एक जनाको अवस्था मध्यम छ । घाईतेहरुको टाउको, छाती, अनुहार हात, खुट्टामा चोट लागेको छ । घाईते हुनेहरुमा प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिना, प्रहरी निरीक्षक राज किशोर साह तेली, प्रहरी नायब निरीक्षक राजन थापा, प्रहरी हवल्दार श्रीराम पटेल लगायतका छन् ।

सशस्त्र प्रहरी हवल्दार दिपक गुरुङ, प्रहरी जवानहरु राजेश पूनः मगर, सदाम हुसेन, रुदल कुमार यादव, सुबोध कुमार यादव, सुरेन्द्र महतो घाईते भएका छन् । उनीहरुलाई अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डक अस्पताल वीरगञ्जमा रेफर गरिएको प्रहरीले जनाएको छ ।

त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । झडपमा संलग्न रहेको आरोपमा ७ जना मजदूरलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक बोगटीले बताए । झडपमा मजदूरसमेत घाइते भएका छन् । बन्धक बनाएर राखेका उद्योगका व्यवस्थापकहरुलाई उद्धार गर्न प्रहरी त्याहा पुगेका थिए । व्यवस्थापकहरुलाई उद्धार गर्ने क्रममा मजदूरहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडप भएको प्रहरीले दावी गरे ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग