सर्लाही । सर्लाहीमा सहकारी संस्थाका प्रमुखउपर गोली प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये तीनजना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेका छन् ।
तीन जना भारतीय नागरिकहरु १९ वर्षका युवक र नेपाली नागरिक सहनी ३२ वर्षका छन् । पक्राउ परेकामध्ये धिरेन्द्रको एउटा खुट्टामा गोलीसमेत लागेको छ ।
बुधबार बिहान १०ः३० बजेतिर सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियो ।
आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरु आएर कार्कीलाई ४ राउन्ड गोली प्रहार गरेका थिए । कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियोे । कार्कीको अहिले काठमाडौंमा उपचार भैरहेको छ ।
घटनालगत्तै खोजतलासमा जुटेको प्रहरीले चार जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech