जनकपुरधाम । सामुदायिक विद्यालयमा शैक्षिकसत्रको बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्या घट्दै गएको छ । विभिन्न घरायसी समस्याको बहानामा विद्यार्थीहरूले बीचमै पढाइ छाड्ने गरेका थिए । तर, केही वर्ष यता यस्ता बहानामा विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ । धनुषाको सबैला नगरपालिकाका विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये केही मात्र बीचमै पढाइ छाडेर गएका छन् ।
सबैला–९ कुशमाहा सतोषरमा रहेको श्रीरामजानकी नमूना माध्यमिक विद्यालयमा यस वर्ष करिब ५० जना बालबालिका र किशोरी थपिएका छन् । नामाकरण गराएर गएपछि केही फर्केर विद्यालय नआएको प्रअ महेश्वर प्रसाद यादवले बताए । ती मध्ये कक्षा ५ मा भर्ना भएकी सात जना दलित किशोरी विद्यालय नियमित हुन सकेनन् । उनीहरुले विद्यालयबाट पुस्तक, पोशाक लगायतको सामग्री लिएर गएपछि फर्केका छैनन् । अभिभावकलाई सम्झाई बुझाई गर्दा आउने फेरी केही दिन पछि आउने नगरेको हो ।
चालु शैक्षिक सत्रमा स्थानीय रामपियारी कुमारी, अंजली कुमारी सदा, आशिका कुमारी सदा, संजुला कुमारी सदा लगायतका किशोरीहरु कक्षा ५ मा नामाकरण गराएकी थिइन् । उनीहरु नियमित विद्यालय आउने नगरेको प्रअ यादवले स्वीकारे ।
गएको बैशाख २५ गते आसमान नेपालको सहयोगमा पालिकास्तरीय विद्यार्थी भर्ना अभियान कार्यक्रम गरिएको थियो । विद्यार्थी भर्ना अभियानमार्पmत विद्यालयमा बालबालिकाहरु भर्ना भएको छ, प्रअ यादवले भने–दलित, गरिब र विपन्न वर्गका केही बालबालिकाहरु विद्यालयमा नियमित हुन नसकेको हो ।
नर्वेजियन दूतावासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन अभियान संचालन गरिएको हो । सबैला नगरपालिकामा सबै बालबालिकाको पहुँच विद्यालयसम्म भएको छ । विद्यालयमा विद्यार्थी टिकाउनको लागि सहयोगी संस्थाले विभिन्न सामग्री समय समयमा उपलब्ध गराउदै आएको छ । ती सामग्री बालविकासका बालबालिकाको लागि उपयोगी साबित भइरहेको प्रअ यादवले बताए । समय समयमा आसमान नेपालले शिक्षकहरुलाई तालिम उपलब्ध गराएर सिकाई उपलब्धीलाई थप प्रभावकारी बनाउन सहयोग गर्दै आएको छ ।
तराईमधेशमा अहिले चाडपर्वको मौसम छ । विद्यार्थीदेखि शिक्षकसम्मलाई चाडपर्व लागेको छ । तर, बिहीबार दिउँसो ४ बजेसम्म सतोषरस्थित श्रीरामजानकी माविमा पठनपाठन चलिरहेको थियो । व्यवस्थित कक्षाकोठा, खानेपानी, शौचालयले विद्यालयमा विद्यार्थीलाई पठनपाठनको वातावरण प्रदान गरेको छ । यो कार्यमा निक शिक्षा दिअ परियोजनाले समेत सघाउँदै आएको प्रअ यादवले स्वीकारे । विद्यालय व्यवस्थित गर्न र समयमै प्रशासनिक कार्यहरु सार्वजनिक लेखा परीक्षण, स्टाफ मिटिङ लगायतको कार्य सम्पन्न गर्नको लागि आसमान नेपालले झकझकाउने गरेको ती विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामपुकार यादवले बताए । रेष्टरुम, टंयाकी लगायत महिनावारीमा प्रयोग गरिने सामग्रीहरुको समेत विद्यालयमा व्यवस्थापन गरिएको छ । जसका कारण किशोरीहरुलाई महिनावारीको बखत पनि विद्यालय आउन झन्झट हुँदैन् । यसमा आसमान नेपालको भूमिका महत्वपूर्ण रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामपुकारले बताए । विद्यालय व्यवस्थापन समिति गठन गर्न पनि आसमान नेपालका कर्मचारीहरुले नै पहलकदमी लिएपछि सम्भव भएको प्रअ यादवले बताए ।
आसमान नेपालले विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि गरेको कार्यको प्रअ यादवले प्रशंसा गर्दै यसले विद्यालयलाई निन्द्राबाट जगाउने कार्य गरेको बताए ।
विद्यार्थी भर्नाको अगुवाई विद्यालयले गरेको बताउँदै आसमान नेपालका पालिका संयोजक परवेज आलमले सहयोग भने आपूूmहरुले गर्दै आएको बताए । विद्यार्थी भर्ना अभियानका कारण प्रत्येक वर्ष विद्यार्थीको संख्या थपिदै गएको दावी उनले गरे । आलमको दावीमा श्रीरामजानकी नमूना माविका प्रअ यादवले पनि समर्थन जनाउँदै चालु शैक्षिक सत्रमा पनि करिब सय जना विद्यार्थी थपिएको जानकारी दिए । ती विद्यालयमा हाल १३९६ जना विद्यार्थी अध्ययनरत्त छन् । उनीहरुलाई अध्ययन गराउनको लागि विद्यालयमा शिक्षकसहित २९ जना कर्मचारी कार्यरत्त रहेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech