जनकपुरधाम । शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरुको प्रथम त्रैमासिक निकासामा पहलको लागि आग्रह गर्दै धनुषाका शिक्षकहरुको संयुक्त संस्थाले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपालीहरुको महान चाड वडादशैं, दीपावली तथा छठ पर्वमा समेत प्रथम त्रैमासिकको तलब तथा दशैं खर्च निकासा नगरेको भन्दै उनीहरुले पहलको लागि माग गरेका छन् ।
तलब निकासाको लागि सात दिन भित्र आवश्यक पहल नभए बाध्य भएर जिल्लाका सम्पूर्ण शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
चालु आर्थिक वर्ष २०७९।०८० को प्रथम त्रैमासिकको तलब र दशैं खर्च समेत निकासा गर्न नसकेका पालिकाका जनप्रतिनिधिहरु बीच राजनीतिक प्रतिशोधका कारण शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरु समस्यामा परेको उनीहरुको ठहर छ ।
कमला नगरपालिका, नगराइन नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा कार्यरत्त शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरु अहिलेसम्म तलब र दशैं खर्च पाउन सकेका छैनन् ।
मुलुक संघीयतामा गइसकेपछि स्थानीय सरकारको मातहतमा शिक्षा क्षेत्रमा सुधार हुनुपर्ने थप बेथिति देखिएको शिक्षकहरुको संयुक्त संस्थाको ठहर छ ।
स्थानीय तहमा कार्यरत्त शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीको समयमै तलब भत्ता खुवाएर मनोवल बढाउनुको साटो सम्मानजनक व्यवहार समेत नगरेको आरोप उनीहरुले लगाए ।
शिक्षक नेताहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल शिक्षक संघका धनुषा अध्यक्ष रामसिनेही यादव, नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाका अध्यक्ष मंजु कुमारी महतो, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, संघीय शिक्षक फोरम धनुषाका अध्यक्ष नन्दकिशोर तिवारी, राष्ट्रिय शिक्षक मंचका अध्यक्ष श्याम साह र नेपाल शिक्षक संघ धनुषाका सचिव सुरेश कुमार यादवद्वारा हस्ताक्षरित संयुक्त ज्ञापनपत्र प्रजिअ र समन्वय इकाई प्रमुखलाई बुझाइएको हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech