जनकपुरधाम । पाँच दलीय सत्ता गठबन्धनको मधेश प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेला शनिबार (आज) जनकपुरधामको होटल शिताशरणमा हुने भएको छ ।
शनिबार दिउँसो २ बजेपछि हुन लागेको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा गठबन्धनका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
भेलालाई सम्बोधन गर्न सत्ता गठबन्धनका नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकप्टरबाट शनिबार दिउँसो जनकपुर आउने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक प्रदिप क्षेत्रीले बताए । क्षेत्रीका अनुसार विराटनगरबाट हेलिकप्टरले प्रधानमन्त्री देउवा जनकपुर आउने कार्यक्रम रहेको छ । देउवासँगै सत्ता गठबन्धनका घटक दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर लगायतले सम्बोधन गर्ने छन् ।
अध्यक्ष ठाकुर चुनावी अभियानको क्रममा महोत्तरीमा छन् । जनकपुरमा हुन लागेको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा सत्ता गठबन्धनमा आवद्ध दलका केन्द्रीय सदस्य, प्रदेश सदस्यहरु सहभागी हुने नेपाली कांगे्रस धनुषाका सभापति योगेन्द्र पजियारले बताए ।
सत्ता गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने कार्यक्रम निर्धारण गरेपनि निर्वाचन आयोगले कात्तिक १८ गते यता चुनावी आमसभा गर्न रोक लगाएपछि रुपान्तरित कार्यक्रम संयुक्त प्रशिक्षण भेला गर्न लागेको हो । गठबन्धनले खुला मंचमा आयोजना गर्ने कार्यक्रम होटलभित्र गर्नुपरेको छ ।
शनिबार नै गठबन्धनले प्रदेश १ को विराटनगरमा पनि संयुक्त प्रशिक्षण भेला आयोजना गरेको छ । बिहान ११ बजेको लागि तोकिएको भेलाको सम्बोधन गरेर गठबन्धनका शीर्षस्थ नेताहरु जनकपुर आइपुग्ने छ । जनकपुरको भेलालाई सम्बोधन गरेर शीर्षस्थ नेताहरु काठमाण्डौ फर्किने छन् । गठबन्धनले शुक्रबारदेखि साताव्यापीरुपमा चुनाव लक्षित भेला सुरु गरेको छ । सातै प्रदेशमा गर्ने भेला अन्तर्गत शुक्रबार गण्डकी प्रदेशबाट सुरु भएको हो । गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech