वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ नेपाली कांग्रेसका बुथ सभापतिको नेतृत्वमा ४५ जना नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१२ काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु सामुहिक रुपमै पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका हुन् ।

वडा नम्बर १२ काँग्रेसका बुथ सभापति वीरेन्द्र कुशवाहाको नेतृत्वमा काँग्रेस परित्याग गरी जसपा प्रवेश गरेका ४५ जना नेता कार्यकर्ताहरुलाई पर्सा १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र मुख्यमन्त्री लालबाबु राउतले टीका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

शनिबार वीरगञ्जको मुर्लीमा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस छाडेर जसपामा प्रवेश गरेका कुशवाहाले पर्सा १ मा काँग्रेस नेतृत्व विहीन भएकाले आफुहरुले काँग्रेस छाडेर जसपामा प्रवेश गरेको बताए ।े काँग्रेसको नीति, सिद्धान्त र निर्णय विपरित पूर्व जिल्ला सभापति अजय द्विवेदीले बागी उम्मेदवारी दिएको र उनको पक्षमा क्षेत्रीय सभापति अरविन्द गुप्ता लगायतका नेताहरु लागेकाले पर्सा १ मा काँग्रेस अब नेतृत्व बिहीन भएको बताए ।

पार्टीको नीति, सिद्धान्त र निर्णय नै नमान्ने नेताहरुको साथमा त्यो पार्टीमा बस्न नसकिने निष्कर्षमा पुगेर आफुहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको कुशवाहाको भनाई छ । ‘जुन पार्टीमा नेताले नै पार्टीको निर्णय मान्दैनन्, बागी उम्मेदवारी दिन्छन् अनि ती बागी उम्मेदवारकै पछाडि जिम्मेवार नेताहरु लाग्छन् भने त्यो पार्टीमा कुनै विचार र सिद्धान्त नै हुँदैन, त्यहिँबाट असन्तुष्ट भएर हामीले काँग्रेस छाडेका हौं ।’

कुुशवाहाले मधेस र देशको हितमा काम गर्ने एक मात्र पार्टी जसपा नै भएको ठहर गर्दै आफुहरु जसपामा प्रवेश गरेको स्पष्ट पारे । उनले भने, ‘नेता हुनु त प्रदीप यादव जस्तो, जो जनताको हरेक दुख सुखमा साथ दिदै आएका छन्, पदमा रहे पनि नरहेपनि जनताकै माझमा बसेका छन्, यस्तो लोकप्रिय र विकास प्रेमी नेता पर्सालाई मात्र नभइ देशलाई सधै चाहिन्छ ।’

कार्यक्रममा बोल्दै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवले पार्टीमा प्रवेश गरेका सबै नेता कार्यकर्ताहरुलाई जसपाले मुल्यांकन गरेर उचित व्यवस्थापन गर्ने बताए । उनले जसपाले मधेसको मुद्धा सडक देखि सदन सम्म उठाउँदै आएको भन्दै मधेस र मधेसीलाई अधिकार सम्पन्न नबनाए सम्म संघर्ष गरिरहने पनि बताए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री राउत, जसपाका केन्द्रिय सदस्य वीरेन्द्र यादव, जिल्ला समन्वय समिति पर्साका पूर्ब प्रमुख नेक महम्मद अन्सारी, पूर्व वडाअध्यक्ष रामदरश कुशवाहा लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर