जनकपुरधाम । हिन्दूहरुको दोश्रो महान चाड तिहारको पहिलो दिन शनिबार जनकपुरधाममा धनतेरस मनाइएको छ । हिन्दू धर्मावलम्बीहरुले धातु, इलेक्ट्रोनिक, सवारीसाधन लगायतको सामग्री खरिद गरेर धनतेरस मनाइएको हो । धनतेरसको दिन विक्रि गर्नको लागि जनकपुरका व्यापारीहरुले केही दिन अघिदेखि नै सामान भण्डारण गरेको हुन्छ । यसपाली भने धनतेरसमा अपेक्षा अनुरुपको व्यापार भएको छैन् । बढ्दो महगाईका बीच उपभोक्तालाई आर्थिक अभाव हुन गएकोले यस वर्षको धनतेरसमा व्यापार घटेको व्यापारीहरुको अनुमान छ ।

तीन गुणासम्म सामानको भाउ वृद्धि भएकोले खरिद गर्न मुस्किल भएको गृहिणी पुनम राउत बताउँछिन् । उनले यसपालीको धनतेरसमा महगार्ईकै कारण खासै किनमेल गरेकी छैनन् । पुनम जस्तै जनकपुरधाम–६ की रितु तिवारी पनि ढाड सेक्ने गरी भएको मुल्य वृद्धिले मध्यम वर्गीय परिवारलाई सामान छुनै नसकिने भएको बताउँछन् । विगतको जस्तो यसपाली सामान खरिद गर्न नसकिएको उनले सुनाइन् । बढ्दो महगाईका कारण अपेक्षा अनुसारको सामानहरु किनमेल गर्न नसकिएको उनी स्वीकार्छिन् । गृहिणीहरुको गुनासोलाई व्यापारीहरुले पनि स्वीकार गर्छन् । गत वर्षको धनतेरस सम्झिदै पारस टे«डर्सका संचालक सरोज यादवले यस वर्ष ग्राहक कुरेर बस्नुपरेको सुनाए । गत वर्ष ग्राहकलाई सामान विक्रि गर्ने कार्यले भ्याईनभ्याई थियो, उनले भने–यस वर्ष ग्राहक नआउँदा बसिबसाई भयो । उपभोक्ताको हातमा पैसा अभाव हुँदा सामान किनमेल नगरेको उनको बुझाइ छ । गत वर्षको तुलनामा धेरै कम कारोबार भएको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष करिब ४० प्रतिशतले कारोबार घटेको व्यापारीहरु बताउँछन् । गत वर्षको धनतेरसमा ४५ करोडको कारोबार भएको जनकपुरमा यस वर्ष भने मुस्किलले २५ करोडको व्यापार भएको जनकपुर उद्योग वाणिज्य संघका एशोसिएट सदस्य राजीव कुमार(चन्दन) साहले बताए । उनका अनुसार यस वर्ष आर्थिक मन्दीको प्रभाव धनतेरसमा देखिएको छ । यस वर्ष बेलुका ९ बजेपछि बजारमा सर्वसाधारणको उपस्थिति नदेखिएको उनले भने । गत वर्ष मध्यरातिसम्म बजार भरिभराउ थियो ।

सम्बन्धित खवर