जनकपुरधाम । सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररिया टोलमा भएको दुई समुदायबीचको झडपको घटना छानबिन गर्न समिति गठन गरेको छ ।
गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन् । सो समितिलाई एक हप्ताको समय दिइएको छ ।कात्तिक १० गते भंगाहा–८ पररिया टोलमा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १७ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलले ८ बुँदे सहमति गरेको थियो ।सर्वपक्षीय सहमति र गृह मन्त्रालयले छानबिन समिति गठन गरेपछि पररियामा अनिश्चितकालीन कर्फ्यु १८ घण्टापछि शुक्रबार राति १० बजेदेखि हट्ने भएको छ ।शान्ति सुरक्षाको स्थितिमा सुधार आएकोले राति १० बजेदेखि कर्फ्यू हटाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताएका छन् ।
Submit
Copyright © 2025, All Rights Reserved | Developed By ProTech