जनकपुरधाम । विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन् । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन्, तर उनीहरु आफ्ना समस्या शिक्षकलाई भन्न नसकेको बेला विद्यालयमा संचालन गरिएको आराम कक्ष किशोरीहरुको लागि वरदान साबित भएको छ । धनुषाको विभिन्न चार स्थानीय तहमा नर्वेजियन दूताबासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत विद्यालयमा आराम कक्ष संचालन गरेको छ । सबैला नगरपालिकाको चार विद्यालयमा आराम कक्ष संचालनमा रहेको आसमान नेपालका सत्य महतोले बताए ।
धनुषाका धेरैजसो विद्यालय अभैm छात्रामैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर परेको बेला किशोरीलाई महिनाबारी लगायत तत्काल स्वास्थ्यमा समस्या देखिएमा आराम गर्नको लागि उक्त कक्ष संचालनमा ल्याएको महतोले बताए ।
आराम कक्ष संचालनमा आएपछि किशोरीहरुलाई महिनाबारी वा अन्य समस्या भएमा तत्काल घर पुर्याउनुपर्ने समस्या हदैसम्म समाधान भएको महतोको तर्क छ ।
श्रीरामजानकी मावि कुशमाहाकी छात्रा अंजना यादव आफूलगायत साथीहरुलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको सम्झिैत अव भने यो हटेर गएको बताउछिन् । महिनावारीको समयमा केही साथीलाई पेट दुख्ने समस्या हुन्छ, कसैलाई स्यानिटरी प्याड चाहिएको हुन्छ, अंजनाले भनिन–अव विद्यालयमै आराम कक्ष संचालनमा आउँदा यस्तो समस्याहरु समाधान भएकोछ । विद्यालयमै प्याड पाइन्छ तर साथीहरु शिक्षकसँग माग्न सक्नुहुन्न । अव माग्नुपर्ने झन्झट पनि रहेन्, छात्रा यादवले भनिन– आराम कक्षमै सबै व्यवस्था मिलाइएको छ ।
छात्रा दीपिका कापर किशोरीमा महिनावारी मात्रै नभएर अन्य खालका समस्या पनि हुने गरेकाले विद्यालयमै आराम कक्ष संचालनमा आउँदा सहज भएको बताइन् ।
किशोरावस्थामा अन्य शारीरिक परिवर्तन, मानसिक तनाव हुन्छ, दीपिकाले भनिन्, कुनै साथीलाई महिनावारीको समयमा दुःखाइ हुन्छ, यस्तो बेला विद्यालयमा आराम कक्षको आवश्यक्ता महशुस गरिन्छ । कोही साथी घरबाटै तनाव बोकेर आउँछन् । उनीहरुका लागि विद्यालयको वातावरण रमाइलो हुन आवश्यक छ ।
यद्यपि शिक्षिका भने छोरीहरुले आफूलाई समस्या खुलेरै बताए सहयोग गर्ने गरेको बताउँछन् । महिनावारी वा अन्य समस्या भए खुलेरै आउन शिक्षिका बिनिता यादव बताउँछिन् । हामी महिला भएकाले छोरीहरुका समस्या कस्ता हुन्छन् भन्ने ज्ञान छ । उनीहरुलाई हरेक कक्षामा समस्या खुलेर भन्न भन्छौँ, शिक्षिका यादवले भनिन्, भएका सुविधा दिन, उनीहरुका कुरा सुन्ने, उनीहरुका मनमा गलत कुरा नखेलुन् भनी सचेत छौँ ।
महिनावारीमा सरसफाइ, यौनजन्य हिंसा, बलात्कार, बालविवाहबारे जनचेतना जगाउने काम गरिरहेकी छु, यादवले भनिन्, किशोरावस्थामा हुने गलत विचार, गलत बाटोबाट छोरीहरुलाई जोगाउन पनि यस्ता क्रियाकलाप आवश्यक छन् ।
छोरा वा छोरी दुवैका लागि वातावरण सहज हुनुपर्छ । हामी सहज वातावरण बनाउन क्रियाशील छौँ, मावि कुशमाहा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामपुकार यादवले भने, अब छोरीहरुका समस्याबारे विद्यालयमा नियमित छलफल गर्नेछौँ । हामी विद्यालयमा स्वास्थ्य सचेतनाका लागि पनि नगरपालिकासँग पहल गर्छौँ ।
नेपालको संविधानको धारा ३८ मा रहेको महिलाको हकअन्तर्गत उपधारा (५) मा ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ ।
संविधानमा भनेजस्तै शिक्षा आर्जन गर्न छोरीहरुका लागि विद्यालयमा हुनुपर्ने सुविधा भने पुगेको छैन । छोरीहरुको सिकाइ उपलब्धि बढाउन छोरीहरुका लागि छोरीमैत्री वातावरण हुनुपर्छ ।
आउँदा दिनमा विद्यालय किशोरीमैत्री बनाउने अभियानमा छौँ, उनी भन्छन्, शिक्षा पाउनु सबैको अधिकार हो । पढाइका लागि विद्यालयको वातावरण सबैका लागि सजिलो हुन आवश्यक छ । अझ छोरीहरुका लागि थप सुविधा आवश्यक पर्छ । छोरीका लागि घर र विद्यालय दुवै ठाउँमा विशेष वातावरण चाहिन्छ भन्ने कुरामा हामी गम्भीर छौँ । हरेक विद्यालयमा जनचेतना जगाउने खालका कार्यक्रम गर्ने तयारी छ ।
सबैला नगरपालिकामा किशोरीहरुका समस्या समाधानका लागि सामुदायिक विद्यालयमा निक शिक्षा दिअ परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु लागू गरेको छ ।
सबैलासहित जिल्लाको चार वटा सामुदायिक विद्यालयमा आराम कक्ष(च्भकत चययm) स्थापना गरिएको छ । नर्वेजियन दूतावासको साझेदारीमा आसमान नेपालद्वारा संचालित निक शिक्षा दिअ परियोजना अन्तर्गत सबैलाको श्रीरामजानकी मावि कुशमाहा, श्रीरामप्रसाद मावि सबैला, श्री सरस्वती मावि ठिला सबैला र श्रीआधारभूत विद्यालय किरतपुर गरी चार वटा सामुदायिक विद्यालयमा आराम कक्ष स्थापना गरिएको हो ।
पालिकाको चार वटा विद्यालयमा किशोरीहरुका लागि आराम कक्ष व्यवस्थापन गरेको आसमान नेपालका सबैला नगरपालिका संयोजक परबेज आलमले बताए ।
उनका अनुसार महिनावारीको समयमा किशोरीहरुलाई आराम गर्नको लागि सुबिधा सम्पन्न आराम कक्ष व्यवस्थापनमा सहयोग गरिएको हो ।
आराम कक्ष व्यवस्थापनका लागि कार्पेट, कुर्सी, पानी उमाल्ने केट्ली, सिरानी र खोल, सिरक, बोतल, गिलास, जग, चम्चा, खाट, ओछ्यान गद्दा, खाट –पलंग), डोरम्याट, पर्दा, फिल्टर, चप्पल, स्टिल टेबल, मल्टिप्लग, इनामेल, तारपिन तेल, किला, स्यानिटरी प्याड, भेन्डिङ मेसिन, सिक्का, प्लेन सिट, प्राथमिक उपचार बक्स, लगायतका सामाग्री सहयोग गरिएको हो ।
परियोजनाले विद्यालय र अभिभावकको संलग्नतामा स्वच्छ पानी, सरसफाइ र महिनावारी स्वच्छता प्रवर्द्धन वातावरण निर्माणमा सहयोग पुराइरहेको छ ।
परियोजनाले विद्यालयमा बाल मैत्री शौचालय निर्माण तथा मर्मत; शिक्षक, अभिभावक र किशोरकिशोरीहरूको संलग्नतामा विद्यालयहरूमा महिनावारी स्वच्छता प्रबन्धन र बृहत यौनिकता शिक्षा सम्बन्धी विस्तृत दृष्टिकोण प्रस्तुत गर्दै आएको संयोजक आलमले बताए ।
उक्त परियोजना जिल्लाका लक्ष्मीनियाँ गाउँपालिका, नगराइन नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा संचालन हुदै आएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech