जनकपुरधाम । निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई चुनौती दिदै धनुषा–४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतदातालाई प्रभावित पार्न साडी बाँडेका छन् ।
एमाले केन्द्रीय सचिव समेत रहेका उम्मेदवार महासेठले जनकपुरधाम–१९ जमुनिया गाउँमा नवप्रवेशी महिलाहरुलाई साडी वितरण गरेर आफनो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
धनुषा–४ बाट उम्मेदवारी दिएका उनी मतदातालाई प्रभावित गर्न खोजेको आरोप विपक्षी दलले लगाएका हुन् ।
आयोगले जारी गरेको आचारसंहिता विपरित मतदातालाई प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधि नगर्न निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेवारलाई निर्देशन दिएको छ । तर, धनुषामा उम्मेदवार महासेठलाई आचारसंहिता विपरित मतदातालाई साडी बाँडेर प्रभावित गर्न खोजेका हुन् ।
महासेठका पत्नी जुली कुमारी महतो धनुषा–३ मा एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएकी हुन् ।
महासेठले साडी बाँड्दा धनुषा क्षेत्र नम्बर–४ (क) को प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष यादव पनि सो कार्यक्रममा उपस्थित रहेका थिए ।
महासेठले सोमबार पार्टी प्रवेशको नाममा २० जनालाई एमाले भित्र्याउँदा केही महिलाहरुलाई भने साडी बाँडेका हुन् ।
अहिले जिल्लाका सबैजसो प्रतिस्पर्धी उमेदवारहरुले मतदातालाई प्रलोभनमा पार्न विभिन्न सामाग्रीहरु बाँड्न सुरु गरेका छन् । ४÷५ दिनअघि देखि नै नगदसहित अन्य जिन्सी सामग्री मतदातालाई बाँड्न कार्यकर्ताको घरघरमा पुर्याइएको बताइएको छ ।
निर्वाचन आचारसंहिताविपरित उनले साडी बाँड्दा पनि धनुषास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय भने मुकदर्शक बनेको छ । यससम्बन्धमा निर्वाचन आचारसंहिता अनुगमन अधिकारी डा. विरेन्द्र मिश्रलाई सोध्दा उनले आफूले विस्तृत बुझेर मात्र केही भन्न सक्ने प्रतिक्रिया दिए ।
एमालेबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष यादवले भने त्यसलाई अस्वीकार गरेका छन् ।
‘प्रचारमा हिंडेका कार्यकर्तालाई खाना खुवाउन त सकिएको छैन । आ–आफ्नो खर्चमा कार्यकर्ता हिडेका छन् । कहाँको साडी ल्याएर बाँड्नु ? हामीले कसैलाई केही बाँड्दैनौ । एकजना सहीदको आमालाई साडी दिएर हामीले सम्मान मात्र गरेका हौँ,’ यादवले दाबी गरे ।
त्यस्तै, निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेपनि धनुषा क्षेत्र नम्बर–३ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले घरदैलोमा बालबालिकाको प्रयोग गरेको देखिएको छ ।
प्रचारप्रसार र घरदैलोका लागि क्षेत्रको ग्रामीण भेगमा जाँदा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महतोले बालबालिकाको प्रयोग गरेकी छन् ।
यसअघि निर्वाचन आयोगले गत शनिबार जुलीसँग स्पष्टीकरणसमेत सोधेको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि महतोले आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech