सर्लाही । सर्लाहीको ब्रम्हपुरीमा आइतबार एक जनाको मृत्यु हुने गरी दुर्घटना गराएर फरार भएको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना गराएर भागेको भारतीय नम्वर प्लेटको बीआर ३० पी ९०८२ नम्वरको स्पकारपियो ब्रम्हपुरी गाउँपालिका–३, भेल्हीमा फेला परेको हो । सो स्कारपियो जिल्ला प्रहरी कार्यालय मलंगवामा लगेर राखिएको छ । स्कारपियोका चालक भने अझै फरार रहेका र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डीएसपी विजय श्रेष्ठले जानकारी दिए । दक्षिणी भेगस्थित भारतीय सीमा नजिकै पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सखुअवा र भेल्हीको बीचमा स्कारपियोले ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सीतामढीका २२ वर्षीय नेक महम्मदको ज्यान गएको थियो ।

उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मलंगवा नगरपालिका–९, का १२ वर्षीय असलम सफीको भने जनकपुरमा उपचार चलिरहेको छ ।

सो स्कारपियो सर्लाही क्षेत्र नं. २ मा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको चुनावी प्रचारप्रसारमा हिँडेको पुष्टी भएको छ । प्रहरीले यस घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ ।

घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् ।

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग