जनकपुरधाम । हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पंचमी महोत्सवको तयारी तीव्र पारिएको छ ।

यसवर्ष पनि यही मङ्सिर ७ देखि १३ गतेसम्म साताव्यापी रुपमा सीताराम विवाह पञ्चमी महोत्सव मनाउन लागिएको हो । महोत्सव मनाउनको लागि जानकी मन्दिरले तयारी तीव्र पारेको छ ।

मिथिलाको उत्सवमध्ये विवाह पंचमीलाई महोत्सवका रुपमा मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पंचमी मनाउँदै आइएको छ । महोत्सव तयारीका लागि स्थानीय प्रशासन र सरोकारबालासित छलफल अगाडि बढाइएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।

विवाहपंचमीलाई महोत्सवको रुप दिन जानकी मन्दिरलाई सजाउने, स्वागतद्वार निर्माण, पण्डाल निर्माणसहित प्रत्येक साँझ मन्दिर परिसरमा मंगल गीत तथा झाँकीको समेत व्यवस्थापन गरिने उनले बताए ।

यसवर्ष भव्यरुपमा विवाह पंचमी मनाउन विभिन्न समिति एवं उपसमितिसमेत गठन गरिने भएको छ । महोत्सवका लागि शान्तिसुरक्षाको व्यवस्था, प्रचारप्रसार, सवारी साधन व्यवस्थापन, अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत् आपूर्ति, बजार व्यवस्थापनलगायत समिति गठन गरिने भएको छ ।

भगवान् रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा सीता नगरी जनकपुरमा विशेष जन्ती आउने गरेको छ । यसपटक औपचारिकरुपमा जन्ती नआए पनि साधुसन्त र महन्थ जन्तीकै रुपमा आउने भएका छन् ।

 

विवाह पंचमीमा सहभागी हुन ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने भएकाले जताततै फोहर बढ्ने हुँदा सरसफाइमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन जनकपुर उपमहानगरपालिकासँग आग्रह गरिएकोे महन्थ वैष्णबले बताए । फोहर र शौचालय व्यवस्थापनमा उपमहानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्लेसमेत ध्यान नदिने गरेको गुनासो गर्दै उनले आफ्नै छोरीको बिहे ठानेर सबैले सहयोगमा चासो दिनुपर्ने आवश्यकता औंल्याए ।

महन्थ वैष्णबले प्रदेश सरकारले चाहे केही सरसफाइ र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विवाह पंचमी महोत्सवअन्तर्गत मङ्सिर ७ गते जनकपुर नगर दर्शन, ८ गते फूलबारी लीला, ९ गते शुक्रबार धनुष यज्ञ, १० गते तिलकोत्सव, ११ गते मटकोर र १२ गते सोमबार शुभविवाह तथा १३ गते रामकलेवा कार्यक्रम गरिने भएको सीताराम विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिले जनाएको छ ।

सम्बन्धित खवर