सर्लाही । ४ मंसिरमा हुन लागेको आमचुनावलाई भयरहित र शान्तिपूर्ण बनाउन गृह सचिव नेतृत्वको टोलीले बिहीबार सर्लाही पुगेका छन् । गृहसचिव विनोदप्रकाश सिंहको नेतृत्वमा सर्लाहीको धनकौल गाउँपालिका पुगेका टोलीले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन निर्देशन दिएर फर्किएका छन् ।
सुरक्षा अवस्थाबारे जानकारी लिने क्रममा बिहीबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट सर्लाहीको धनकौल गाउँपालिकास्थित सेनाको निर्वाचन बेशमा अवतरण गरेका गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा, प्रधान सेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले आगामी चुनावलाई शान्तिपूर्ण बनाउन निर्देशन दिएका हुन् । उनीहरुलाई सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित चारवटै सुरक्षा निकायका जिल्लास्थित प्रमुखले जिल्लाको चुनावी तयारी, शान्ति सुरक्षाको अवस्था लगायतबारे जानकारी गराए ।
मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै सेनाले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगको परिसरमा सुरक्षा बेश राखेको छ । गत स्थानीय तह निर्वाचनमा धनकौल निकै अशान्त बनेको थियो ।
धनकौल गाउँपालिका–२ स्थित पशु सेवा केन्द्र मतदान स्थलमा झडप भएपछि प्रहरीले गोली नै चलाउनु परेको थियो । आगामी चुनावमा पनि सोही अवस्था आउन नदिन धनकौलमा नेपाली सेनाको बेश नै राखेर सोही अनुसारको सुरक्षा प्रवन्ध मिलाइएको एक जना सुरक्षा अधिकारीले बताए ।
नेपाली सेनाको पाँचकुमारीस्थित भैरवी दल गणका गणपति अभिषेक कार्कीले निर्वाचन सुरक्षा योजना अन्तर्गत निर्वाचनभरीका लागि अस्थायी सुरक्षा बेश राखिएको उज्यालो अभियानसँग बताए । गृह तथा रक्षा सचिव र केन्द्रिय सुरक्षा अधिकारीले अति संवेदशनशील मानिने सर्लाहीको ४ नं. क्षेत्रको सुरक्षा अवस्थाबारे पनि जिज्ञाशा राख्दै सो क्षेत्रमा भरपर्दो सुरक्षाका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
उनीहरुले सर्लाही–४ मा भरपर्दो सुरक्षा प्रवन्ध मिलाइएको सन्देश दिनकै लागि सोही क्षेत्रको धनकौलमा अवतरण गरी यहाँका सुरक्षा अधिकारीलाई भेटेर फर्किएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech