जनकपुरधाम । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको कोखबाट जन्मिएको शिशु र बलात्कार आरोपी शिव श्रेष्ठको डीएनए मिलेको छ । ‘कुमारी आमा’ ले चिनिने राजपुतको कोखबाट जन्मिएको छोरा र श्रेष्ठको डीएनए मिलेको हो । चुनावपछि यसमा पेश चढ्ने उच्च अदालत जनकपुरले जनाएको छ ।
खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले बताए । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।
राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।
५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । उनको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गर्नुपर्ने अवस्था थियो ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले ३१ साउनमा श्रेष्ठलाई अभद्र व्यवहारको कसूरमा पक्राउ गरेर हिरासतमा राखेको थियो ।
उनले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । त्यसका लागि डीएनए जाँच गराउन आफू तयार रहेको बताएका थिए ।
निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी थिइन् ।
निहारिकाले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाको स–सम्मान बाँच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितताका लागि पनि सरकारले पहल गर्नुपर्ने माग गरेकी थिइन् ।
यता पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी राजपुतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनले भने, ‘जहाँ पनि पत्रकार सम्मेलन गर्न पाइने भन्ने हुँदैन, त्यसैले त्यहाँ नबस्नुस् भनेर केहिवेर नियन्त्रणमा लिएर छाडिसकेका छौं ।’
Copyright © 2025, All Rights Reserved | Developed By ProTech