जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले आसन्न आमनिर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालय र मधेश सरकार गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा शुक्रबार सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले खुला सीमानाका साथै आन्तरिक तिक्तताले निर्वाचनमा हुनसक्ने खतरा औँल्याउँदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशनसमेत दिए ।

निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै उनले आचारसंहिताको सूक्ष्म कार्यान्वयन, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणजस्ता कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

मुख्यमन्त्री राउतले आगामी निर्वाचनलाई स्वच्छ तथा निष्पक्ष रुपमा सम्पन्न गराउनमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने तर्क गरे ।

मुख्यमन्त्री राउतले पाँच वर्षमा हुने आवधिक आम निर्वाचनले मुलुकको भाग्य एवं भविष्य निर्माणका लागि दिशा निर्देश गर्ने भएकाले सुरक्षा निकायको भूमिका तटस्थ हुनुपर्ने बताए ।

उनले सुरक्षा निकायले मुलुकको शान्ति सुरक्षा स्थापना गर्नमा खेलेको भूमिका महत्वपूर्ण भएको बताउँदै अगामी मङ्सिर ४ गतेको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न हुने आशा व्यक्त गरे ।

विगतका चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका थियो, उनले भने–त्यसैले चुनाव सफल भएको थियो । आगामी चुनावमा पनि सुरक्षा निकायको भूमिका निष्पक्ष रहने विश्वास उनले व्यक्त गरे ।

प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको उक्त गोष्ठीमा नेपाल सरकारका गृहसचिव विनोदप्रकाश सिंह, मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत, नेपाली सेनाका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायतको उपस्थिति थियो ।

गोष्ठीमा मधेस प्रदेशस्थित आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएको थियो ।

सम्बन्धित खवर