लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा बाल्टिनभित्रको पानीमा डुबेर मृत्युभएपछि परिवारले गाडिसकेको एक बालिकाको शव प्रहरीले शुक्रबार दिउँसो उत्खनन गरेर पोष्टमार्टमका लागि पठाएको छ ।

नवलपुरस्थित लखनदेही खोलाको किनारमा छाप्रो बनाएर बस्दै आएका इनरदेव महतोकी २ वर्षीया छोरी रागिनी महतोको बिहीबार बिहान आफ्नै घरको आंगनमा पानी भरेर राखिएको बाल्टिनभित्र डुबेर मृत्यु भएको थियो । बालिकालाई बाल्टिनभित्र अचेत अवस्थामा घोप्टिरहेको देखेपछि परिवारका सदस्यले उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसपछि उनीहरुले मृतक बालिकाको शव घर नजिकै लखनदेही खोलामा लगेर गाडेका थिए । कानून अनुसार पानीमा डुबेर मृत्यु भएको मृतकको पनि शव पोष्टमार्टम गर्नुपर्ने भएकाले शुक्रबार सो घटनाबारे सूचना पाएपछि प्रहरीले बालिकाको शव खाल्डोबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले बताए ।

सोधखोज गर्दा अस्पताल ल्याउनासाथ चिकित्सकले बालिकालाई मृत घोषणा गरेको र परिवारका सदस्यलाई मृतकको शव पोष्टमार्टम गर्नुपर्छ भन्ने थाहा नपाएर खोलामा लगेर गाडेको पाइएको प्रहरी निरीक्षक कार्कीले बताएका छन् । बिहीबार दिउँसो ३ बजेतिर खोलामा लगेर गाडिएको बालिकाको शव करिव २४ घण्टापछि शुक्रबार दिउँसो खाल्डोबाट निकालेर पोष्टमार्टम गर्न पठाइएको हो ।

मृतक बालिकाको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उनको शव पोष्टमार्टमका लागि मलंगवासम्म पठाउन वडाध्यक्ष हरिबहादुर भट्टराईले गाडीको व्यवस्था गरिदिएका थिए । मृतक रागिनीकी आमा बुधबार राति मात्रै सुत्केरी भएकी छन् ।

घरमा खानेकुरा समेत नभएपछि भर्खरै छोरा जन्माएकी सुत्केरीलाई गाउँलेले खाना लगेर खुवाइदिएका छन् । वडाध्यक्ष भट्टराईले जायोजेथा केही नै नभएको उक्त घरमा एउटा छोरीको मृत्यु भएको र भर्खरै अर्को छोरा जन्माएको सुत्केरी रहेकाले बिजोग भएको सुनाए ।

इनरदेवको परिवारमा केही नै नरहेकाले मृतक बालिकाको पोष्टमार्टम गर्न आफूले व्यक्तिगत तर्फबाट गाडीको व्यवस्था र एक हजार रुपैयाँ दिएर मलंगवा पठाएको उनको भनाई छ ।

इनरदेवले मजदुरी गरेर परिवारको पालनपोषण गर्दै आइरहेको स्थानीयले बताएका छन् ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग