जनकपुरधाम । जनकपुरधाममा ठेकेदार र उपभोक्ता समितिको लापरबाहीले एक बालकको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनास्थित ठेकेदारले खुल्ला छाडेको सडकको नालामा खसेर शुक्रबार बिहान एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखिया छन् । उपभोक्ता समितिका पदाधिकारीले सडक ढलानको लागि ल्याएको ५० लाख रुपैयाँ ठेक्कामार्पmत खर्चेका थिए ।
बिहानै उठेर साढे ६ बजे घर अगाडी खेलिरहेका बालक छेउको नाला (चेम्बर)मा खसेका थिए । परिवारजनले खोजविन गरेपछि मुख तल र खुट्टा मात्रै थोरै देखिएको अवस्था भेटिएको स्थानीय अम्रिता मण्डलले बताइन् । निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो ।
स्थानीय नथुनी मण्डलका अनुसार मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन । ठेकेदार र उपमहानगरपालिकाकालाई पटक पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र बच्चा त्यसको सिकार भएको स्थानीयले बताए । बच्चाको मृत्युुले गाउँ शोकमग्न बनेको छ ।
यो सडक र नाला आर्थिक वर्ष २०७७÷७८ मा संघीय बजेटबाट बनेको थियो । ५० लाखको लागतमा स्थानीय शम्भु मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले ३५० मिटर बाटोमा पीसीसी ढलान र नाला बनाउने काम गरेको थियो । उपभोक्ता समितिले स्थानीय ठेकेदार अजित मण्डल मार्फत काम गराएको थियो । अजित उपभोक्ता समितिका अध्यक्ष शम्भुका भाइ हुन् ।
ठेकेदारले बाटो ढलान गरे, तर नालाको ढकनी लगाएनन् । ५८ वटा चेम्बरमा ढकनी लगाउनुपर्ने थियो । तर उपभोक्ता समितिका अध्यक्ष शम्भुको घर अगाडि पर्ने बाटोमा तीन वटा चेम्बरमा भने ढकनी लगाइएको छ ।
अन्य ठाउँमा लगाइएको छैन । बाँकी ढकनी भने ठेकेदार अजितको घरको छतमा थुपारिएको छ ।
नाला खुला राख्दा जोखिम बढेपछि केही स्थानीयले आफ्नै खर्चमा बनाएर ढकनी लगाएका छन् । ठेकेदार अजित आफूले उपभोक्ता समितिबाट काम गरेको र समयमा नालाको चेम्बरमा ढकनी लगाउन नसकेको स्वीकार गर्छन् ।
‘ढक्कन बनाउन अर्डर दिएको थिएँ, ३० वटा जति बनिसकेको थियो । तर पूरै लगाउन नसक्दा कार्यालयले भुक्तानी दिएन’ ५० लाखमध्ये ढक्कनको ६ लाख कटाएर ४४ लाख मात्र पाएको भन्दै उनले अनलाइनखबरसँग भने, त्यो ढक्कनी मेरो घरको छतमा छ । मैले भने भुक्तानी दिन भन्नुस्, म लगाइदिन्छु ।’
उपभोक्ता समितिका अध्यक्ष शम्भु सम्पर्कमा आएनन् । समितिका कोषाध्यक्ष अनुप मण्डलका अनुसार ढकनीको काम नभएकाले ४२ लाख भुक्तानी गरेको हिसाब शम्भुले सुनाएका थिए । भन्छन्, ‘म लेखपढ जान्दिनँ, सबै उनैले गरे ।’
ठेकेदार र उपभोक्ता समितिको दावीसँग संघीय आयोजना कार्यान्वयन इकाइका अधिकारीहरू सहमत छैनन् । संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका सव ओभरसियर मनोजकुमार मण्डल साइट भिजिट गर्दा ५२ वटा ढकनी जडान गरिएको पाएपछि मात्र उपभोक्ता समितिलाई भुक्तानी गरेको दावी गर्छन् । ‘केही काम र ६–७ वटा ढक्कन मात्र लगाउन बाँकी थियो’ उनले भने, ‘त्यसको अढाइ लाख रुपैयाँ काटेर बाँकी भुक्तानी दिएको थियो ।’
आयोजना कार्यान्वयन इकाई जनकपुरका प्रमुख प्रदीप खनाल पनि काम सम्पन्न गरे अनुसार भुक्तानी भएको दावी गर्छन् । कामविशेषले बाहिर भएका कारण (आज) शुक्रबारको घटनाबारे आफूलाई थाहा नभएको भन्दै उनले भने, ‘यो विषयमा म उपभोक्ता समितिसँग बुझ्छु । तर यो घटनामा हाम्रो कुनै दोष छैन ।’
जनकपुरधामका मेयर मनोज साह पनि यो सडकको काम उपमहानगरबाट नभएको कारण आफूलाई थाहा नभएको बताए । काठमाडौंमा रहेका उनले जनकपुर पुगेर पीडित परिवारलाई भेट्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने दाबी गरे ।
डुबेर बालकको मृत्यु
जलेश्वर । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिकामा शुक्रबार बिहान पोखरीमा डुबेर जलेश्वर ८ बजराही बस्ने पंकज ठाकुरको ४ वर्षीय छोरा प्रियंन्सराज ठाकुरको डुबेर मृत्यु भएको हो ।
खेल्दाखेल्दै घर नजिकै रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरका सदस्यहरूले बच्चालाई खोजी गर्दा उनको शव पोखरीमा फेला परेको र प्रादेशिक अस्पताल जलेश्वर पुराउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech