वीरगञ्ज । वीरगञ्ज र आसपासका क्षेत्रमा डेङ्गीको सङ्क्रमण फैलन थालेपछि महानगरपालिकाले लामखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ ।
पछिल्लो केही दिन यता यहाँका अस्पतालहरूमा डेङ्गीका बिरामीको सङ्ख्या बढ्दै गएपछि महानगरले विशेष अभियान नै चलाएको हो ।
शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बैठक बसेर डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि वडा स्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता र डेङ्गी जाँच किटको व्यवस्था गर्ने बारे छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि महानगरले थालेको कदम सह्रानीय रहेको भन्दै यसमा सबै तह र तप्काको साथ रहनु पर्नेमा जोड दिए । ‘डेङ्गी समस्याको रूपमा फैलन नदिन पहिल्यै चनाखो भएर सबैले हातेमालो गरेर आवश्यक सतर्कता अपनाऔँ,’ उनले भने, ‘बेलैमा सङ्क्रमण नियन्त्रणमा ल्याउन नसकिए भयावह स्थिति सिर्जना गर्नेछ ।’
रेग्मीले आफू मातहतका सबै कार्यालयलाई डेङ्गी सङ्क्रमण नियन्त्रणमा हातेमालो गर्न निर्देशन दिँदै टोल टोलबाटै सङ्क्रमण नियन्त्रणका लागि सबै जाग्नु पर्ने बताए ।
महानगरको स्वास्थ्य, सरसफाइ शाखा र नगर प्रहरी समेतको टोली हरेक दिन वीरगञ्जको विभिन्न स्थानमा पुगेर लामखुट्टेको वासस्थानको खोज्दै लार्भा नष्ट गर्दै आइरहेको छ ।
शुक्रवारको बैठकमा महानगरका स्वास्थ्य शाखा प्रमुख अनिल यादवले डेङ्गी सङ्क्रमणको अहिलेसम्मको अवस्था र यसको नियन्त्रणमा महानगरले गरिरहेको अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।
महानगरको सभा हलमा बसेको बैठकमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य, नेपाली सेनाका प्रमुख सेनानी डायमन्ड कार्की, जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत भागिरथ चौधरी, नारायणी अस्पतालका प्रवक्ता एवम् फिजिसियन डा. उदयनारायण सिंह लगायत विभिन्न कार्यालय तथा संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech