कोलम्बो । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कप–२०२३ माथि कब्जा जमाएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो ।
श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले ।
यसअघि श्रीलङ्काली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतविरुद्धको फाइनलमा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।
भारतका दायाँहाते तीव्र गतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलङ्काली ब्याट्सम्यानहरू निरीह साबित भए । श्रीलङ्काका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । फाइनल खेलको म्यान अफ दी म्याच भएका सिराजले २१ रन खर्चेर ६ विकेट लिए । प्रतियोगितामा ९ विकेट लिएका चाइनामैन स्पीनर कुलदीप यादवलाई म्यान अफ सिरिज प्रदान गरियो ।
ओपनर कुशल परेरा खाता खोल्नुअघि नै पेभेलियन फर्किए । त्यसलगत्तै अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भए । तेस्रो विकेटका रूपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किए । चौथो विकेटका रूपमा चरिथा असलंका पनि शून्य रनमै आउट भए ।
यसैगरी पाँचौँ विकेटका रूपमा धनन्जय डा शिल्भा आउट भएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ विकेटका रूपमा कप्तान दासुन सानका शून्य रनमै आउट भए । सातौँ विकेटका रूपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भए । दुशन हेमन्थाले १३ रन जोडेर नटआउट रहे ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech