जनकपुरधाम । नेपाल शिक्षक महासंघमा आवद्ध संस्थाका धनुषा जिल्ला अध्यक्षहरुले आउँदो असोज ३ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल शिक्षक महासंघमा आवद्ध संस्थाका धनुषा जिल्ला अध्यक्षहरुको आइतबार जनकपुरधाममा बसेको बैठकले असोज ३ गतेदेखि जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । सम्पूर्ण विद्यालयहरु बन्द गरेर संस्थाका पदाधिकारी, प्रअ, शिक्षकसहित सम्पूर्ण शिक्षक, कर्मचारीहरुलाई आन्दोलनमा सहभागी हुनका लागि काठमाण्डौ जान आग्रह गरेको छ । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिको अर्को सूचना नआउञ्जेलसम्म धनुषाका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द रह्ने जानकारी समेत संस्थाका पदाधिकारीहरुले गराएका हुन् ।

नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादव, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष धर्मेन्द्र यादव, राष्ट्रिय शिक्षक मंचका अध्यक्ष श्याम साह, संघीय शिक्षक फोरम, नेपालका अध्यक्ष नन्दकिशोर तिवारी लगायतको उपस्थिति रहेको थियो ।

यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकका विरुद्धमा असोज ३ गतदेखि आन्दोलनको घोषणा गरेको महासंघलाई मन्त्रालयले वार्तामा आउन आग्रह गरेको हो ।

शिक्षा सचिव सुरेश अधिकारीले विद्यालय बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरिएको बताए । विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा संशोधनमा जान सकिने बाटो खुला नै छ । मन्त्रालयको हातमा नरहेको विषयमा महासंघले लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध गर्ने गरी आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ ।

असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रीत आन्दोलनमा आउन महासंघले मातहतका निकायलाई परिपत्र गरेको छ । सोही आधारमा शिक्षक कर्मचारीहरू काठमाडौँ आउने तयारीमा छन् । यहि अवस्थामा मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरेको हो ।

 

सम्बन्धित खवर