जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल यही असोज ८ गते जनकपुरधाम आउने भएका छन् ।

राष्ट्रपति पौडेल जानकी मन्दिरमा दर्शनपूजा गर्न र नागरिक समाजलाई सम्बोधन गर्नको लागि पहिलो पटक जनकपुरधाम आउन लागेका हुन् ।

आइतबार नेपाल प्रेस युनियन धनुषाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विलेन्द्र निधिले उनी आउने सम्बन्धमा जानकारी गराएका हुन् ।

नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेकाले राष्ट्रपति पौडेललाई यहाँ नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखिएको छ । सोहीमा सहभागी हुन् उनी यहाँ आउन लागेका हुन् ।

यसअघि जेठ महिनामा उनको जनकपुरधाम आउने कार्यक्रम स्थगित भएको थियो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता एवं संघीय सांसद निधिले गठबन्धन सरकारमा समस्या रहे पनि सरकार ढल्ने सम्भावना नरहेको बताए । उनले धेरै दल मिलेर सरकार बनेकाले समस्या हुनु स्वाभाविक रहेको पनि बताए ।

‘गठबन्धको सरकार छ । चल्दै छ,’ कांग्रेसका नेता निधिले भने, ‘गठबन्धनमा समस्या पनि छ । पूर्वसहमतिअनुसार नै गठबन्धनको सरकार अगाडि बढ्नुपर्छ ।’

उनका अनुसार सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालपछि नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिमा गठबन्धन दल अडिग रहनुपर्छ ।

दाहाल समाजवादी मोर्चा बनाएर सक्रिय भएको र कांग्रेस–एमाले मिलेर सरकार बनाउने अड्कलबारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा कांग्रेस नेता निधिले भने, ‘राजनीतिमा मोर्चाबन्दी गर्नु स्वाभाविक हो । दलीय गतिविधि गर्दैमा आत्तिनुपर्ने अवस्था होइन । कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा गलत हो । कुनै सम्भावना छैन ।’ उनले नेपालमा राजनीति स्थिरता पेचिलो देखिएको पनि संकेत गरे । ‘संसद् र सरकार दुवैमा राजनीति स्थिरता हुनुपर्छ,’ निधिले भने, ‘त्यो देखिँदैन । हाम्रो मान्यता संसद् पूर्ण अवधिसम्म चल्नुपर्छ भन्ने हो । यसलाई नै राजनीति स्थिरता भनिन्छ ।’

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग