जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई निर्णायक शक्ति बनाउनुपर्नेमा जोड दिएका छन् । जसपा मधेश प्रदेश समितिले आइतबार जनकपुरधाममा आयोजना गरेको संगठन विस्तार अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यसको लागि संगठन सुदृढ बनाउनमा जुट्नको लागि कार्यकर्ताहरुलाई निर्देशन दिए । जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ, उनले भने–चाहे त्यो आन्दोलनबाट होस् वा संसदीय प्रणालीबाट । पार्टी निर्णायक शक्ति नहुँदासम्म समावेशीमा देखिएको समस्या समाधान नहुने भएकाले सबै नेता तथा कार्यकर्तालाई संगठन सुदृढ गर्नमा जुट्नको लागि आह्वान गरे ।
मनमनमा जसपा, घरघरमा जसपा नाराका साथ थालिएको संगठन विस्तार अभियानलाई गाउँ गाउँ र टोलटोलसम्म पुर्याउनुपर्नेमा उनले जोड दिए ।
जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने जिम्मेवारी जसपाको रहेको बताए ।
कांगे्रस र कम्युनिष्ट पार्टीले संघीयता संस्थागत हुन दिन नचाहेको दावी गर्दै उनले यो जिम्मेवारी पनि जसपामा आएको तर्क गरे ।
राजनीति नियुक्तीमा एक जातीय वर्चश्व कायम रहेको उल्लेख गर्दै अध्यक्ष यादवले यसको विरुद्ध पार्टीले संघर्ष गर्नुपर्ने धारणा उनले राखे ।
मिशन २०८४ को तयारीमा जुट्नको लागि आह्वान गर्दै उनले पार्टीका लागि काम गर्नुका साथै जनतामाझ लोकप्रिय नेता कार्यकर्ताले अवसर पाउने जानकारी समेत दिए ।
सो अवसरमा मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधी तत्वहरु सल्बलाइरहेको जिकिर गर्दै यसतर्पm सबैलाई सचेत हुनको लागि आग्रह गरे । प्रदेश सरकारले उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गरेर प्रदेशवासीलाई सरकारको अनुभूति गराउने विश्वास मुख्यमन्त्री यादवले दिलाए ।
मुख्यमन्त्री यादवले २०७९ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसितको गठबन्धनले गर्दा पार्टीले क्षति व्यहोर्नुपरेको जिकिर गरे ।
सो अवसरमा पार्टी कार्यकारिणी समिति सदस्य राजकिशोर यादव, नवल किशोर साह, मधेश प्रदेश इन्चार्ज मृगेन्द्रसिंह यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, केन्द्रीय सदस्य दिपक कार्की, उर्मिला साह लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रदेशका मुख्य सचिव दिनेश यादवले कार्यक्रम संचालन गरेको कार्यक्रममा मधेश प्रदेश समितिका उपाध्यक्ष युसुफ अलीले संगठन विस्तार अभियान निर्देशिकाको बारेमा जानकारी गराएका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech