जनकपुरधाम । सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्युको अवज्ञा गर्दै शुक्रबार प्रदर्शन गरिएको छ । गणेश पूजाको मूर्ति सेलाउन लैजाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि मलङ्गवा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको हो ।
निषेधाज्ञाकै बीच मलङ्गवाका विभिन्न स्थानमा शुक्रबार दिनभर प्रदर्शन भयो । जिल्ला प्रशासन कार्यालयमा समेत ढुङ्गामुढा प्रहार भएको छ । प्रदर्शन अराजक बन्दै गएपछि शुक्रबार दिउँसो २३ सेल अश्रुग्यास प्रहार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीमाथि समेत बेलाबेलामा ढुङ्गा प्रहार भइरहेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन नदिन कर्फ्युलाई निरन्तरता दिइएको बताए ।
मलङ्गवास्थित शिवसागर चोक नजिकको पोखरीमा मुर्ति विसर्जन गर्न लैजाँदै गर्दा भएको झडप नियन्त्रणका क्रममा बिहीबार राति पनि नेपाल प्रहरीले पाँच सेल र सशस्त्र प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेका थिए ।
झडपकै क्रममा एक घरमा भएको आगजनी मलङ्गवा नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार झडपमा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका छन् ।
मलङ्गवामा यसअघि श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउनेक्रममा पनि विवाद भइ निषेधाज्ञा जारी गर्नुपरेको थियो । त्यसपछि स्थिति सामान्य बन्दै गइरहेको अवस्थामा बिहीबार राति पुनः माहोल बिग्रिएपछि तनाव उत्पन्न भएको हो ।
यसैबीच, शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय–सर्वपक्षीय समन्वय सहजीकरण बैठकले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई पक्राउ गरी हदैसम्म कारवाही गर्ने, घटना गराई मानवीय तथा भौतिक क्षति पुर्याउने व्यक्ति पहिचान गरी निजबाटै क्षतिपूर्ति भराउने र आगामी दिनमा यस प्रकारका घटना हुन नदिन सबै पक्षबाट गम्भीरतापूर्वक आ–आफ्नो दायित्व निर्वाह गर्ने निर्णय गरेको छ ।
यस्तै, गणेश पूजाका सबै मूर्ति एकै ठाउँमा राखेर शुक्रबार बेलुका ५ बजेदेखि ७ बजेसम्म विसर्जन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित खवर