जनकपुरधाम । किशोरकिशोरी तथा युवाहरुलाई तीन दिने नेतृत्व विकास तालिम सोमबार जनकपुरधाममा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत धनुषाको पाँच पालिकाका किशोर किशोरीलाई नेतृत्व विकास सम्बन्धी तालिम दिएको हो । तलिममा १३ बालिकासहित २८ जनाको सहभागिता रहेको आसमान नेपालका रितु तिवारीले जानकारी दिइन् । किशोर किशोरीमा नेतृत्व विकास गर्दै व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्येश्यले तालिमको आयोजना गरिएको तिवारीले बताइन् । सामाजिक कुरीतिविरुद्धको अभियानलाई सशक्त बनाउन किशोर किशोरीको लागि तालिम प्रभावकारी हुने विश्वास लिइएको छ । नेतृत्व के छ ? र नेतृत्वका गुणहरुबारे उनीहरुलाई तालिममा अभिमुखिकरण गराइएकोे आसमान नेपालका नेतृत्व तथा निर्णय प्राविधिक संयोजक रामकुमार महराले बताए । तालिमको सहजीकरण प्लान इन्टरनेशनल नेपालका सृजना बज्राचार्य र लक्ष्मी चौधरीले गरेका थिए । जनकपुरधाममा गएको शनिबारदेखि सुरु भएको तालिममा धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका किशोर किशोरीहरुको सहभागीता रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech