जनकपुरधाम । वृहत्त विद्यालय सुरक्षा सम्बन्धी प्रदेशस्तरीय बाल मेला बिहीबार जनकपुरधाममा सम्पन्न भएको छ । युनिसेफको सहयोगमा आसमान नेपालले आयोजना गरेको बाल मेलामा सहभागि बालबालिकाहरुले विद्यालय सुरक्षाबारे प्रदेश सरकार र स्थानीय सरकारसमक्ष आ आफ्नो जिज्ञासा राखेका थिए । मधेश प्रदेश बाल क्लव संजालका सलमा खातुनको अध्यक्षतामा भएको बाल मेलामा बालबालिकाहरु रकीप्रसाद साहले संचालन गरेको प्यानल अन्तरक्रियामा भाग लिदै आ आफ्नो जिज्ञासा राखेका थिए । रौतहटको राजदेवी नगरपालिकाबाट आएकी अनिता साहले महिनाबारीको बेला छात्राहरुलाई समस्या हुने गरेकाले विद्यालयमा आरामकक्षको व्यवस्था गर्नुपर्ने माग गरिन् । यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएका पृथ्वीनारायण साहले विद्यालयमा कमप्युटर कक्षा र शिक्षकको व्यवस्था मिलाउनुपर्ने माग गरे । धनुषाको धनौजी गाउँपालिकाबाट आएका बालबालिकाहरुले पनि प्यानल अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए ।
बालबालिकाको जिज्ञासाको जवाफ मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले दिदै विद्यालयहरुमा आरामकक्षको व्यवस्थापन गरेको बताइन् । प्रदेश सरकार विद्यालय सुरक्षाप्रति गंभीर रहेकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । यस्तै प्रदेशसभा सदस्य रामअशिष यादवले शैक्षिक प्रणालीकै कारण शिक्षामा सुधार हुन नसकेको बताए । शिक्षामा सुधार गर्नको लागि सरकारले लगानी गर्न जरुरी रहेपनि यसतर्फ सरकार उदासिन रहेको उनले थपे । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले पनि शिक्षा क्षेत्र सुधारमा काम गर्न चाहेपनि आवश्यक नीति नहुँदा समस्या भएको बताए । बाल मेलामा आसमान नेपालका कार्यक्रम व्यवस्थापक विजयकुमार यादवले प्रस्तुतिकरण गर्दै विद्यालय सुरक्षा सम्बन्धी परियोजना मधेश प्रदेशको तीन जिल्लामा संचालनमा रहेको बताए । धनुषाको धनौैजी गाउँपालिका, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र रौतहटको राजदेवी नगरपालिकाको ५७ विद्यालयका करिब २९ हजार बालबालिका यसमा संलग्न रहेको यादवले बताए । यादवका अनुसार विद्यालय सुरक्षाका लागि उक्त परियोजना अन्तर्गत विपत्तको बेला अपनाउनुपर्ने आवश्यक सतर्कताबारे तालिम, अभ्यासहरु गराइएको छ । बाल मेलामा पनि विपत्तमा अपनाउनुपर्ने सतर्कता, उद्धार, प्रतिकार्यबारे अभ्यास गरिएको थियो । उक्त अभ्यासमा बालबालिकाहरुले सक्रिय सहभागिता जनाएर परियोजना अन्तर्गत सिकेका कुराहरु प्रदर्शन गरेका थिए । सो अवसरमा युनिसेफका शिक्षा विज्ञ सबिना जोशी, आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साह, रिंकु ठाकुर, ब्रम्हदेव यादव लगायत तीनै जिल्लाका बालबालिका, शिक्षक लगायतको सहभागिता रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech