जनकपुरधाम । सरोकारबालाहरुको लागि विपदमा बालसंरक्षण सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम शनिबार धनुषाको शहीदनगर नगरपालिकामा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत आयोजना गरिएको तीन दिने तालिममा बालसंरक्षणको लागि स्थानीय सरकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराइयो । शहीदनगर नगरपालिकासहित विदेह, कमला र सबैला नगरपालिका तथा जनकनन्दनी गाउँपालिकाका जनप्रतिनिधि, विपद् व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको तालिमको सहजीकरण रबिन राईले गरेका थिए । बाल संरक्षण सम्बन्धी कार्ययोजना बनाएर कमला नगरपालिकाले बालकोषको स्थापना गरेको शिक्षा शाखा अधिकृत अमित जयसवालले बताए । गत वर्षदेखि संचालनमा ल्याएको बालकोषमा चालु आर्थिक वर्षमा पनि कम्तीमा २० लाख रुपैयाँ जम्मा गरिने जयसवालले बताए । गत आर्थिक वर्षमा बालकोषको लागि छुट्याएको ३० लाख रुपैयाँबाट शितलहरको बेला दाउरा वितरण, आगलागीमा परेकालाई क्षतिपूर्ती बाढीबाट क्षति व्यहोरेकालाई पनि राहत दिने कार्य गरिएको जयसवालले बताए । विपदको बेला सबैभन्दा बढी जोखिममा बालबालिका हुने गरेकाले उनीहरुको संरक्षणमा सरोकारबाला गंभीर हुनुपर्ने आवश्यक्ता जयसवालले औंल्याए । यस्तै विदेह नगरपालिकाले बालकोषको स्थापना नगरेपनि कार्ययोजना ल्याएर जोखिममा परेका बालबालिकाको उद्धार र सहयोग तथा विपदको समयमा सहयोग गरेको छ । पालिका विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका विदेह नगरपालिका वडा नं. १ का वडाध्यक्ष संजय पाण्डेले विपदको समयमा हरसम्भव सहयोग गरेर बालबालिकाको संरक्षण गरिरहेको बताए । शीतलहरमा परेका बालबालिकालाई न्यानो लत्ताकपडा, आगलागी, बाढी, हावाहुरीले क्षति पुर्याएको नागरिकलाई पालिकाबाट आवश्यक सहयोग उपलब्ध गराएको वडाध्यक्ष पाण्डेले बताए । शहीदनगर नगरपालिकाका बालकल्याण अधिकृत रामसिकिल यादवले पालिकामा बाल संरक्षण सम्बन्धी कार्ययोजना ल्याएर काम अगाडि बढाइएको जानकारी दिए । बाल संरक्षणतर्फ पालिका गंभीर भई विपदको बेला बालबालिकाको संरक्षणमा प्रतिबद्ध रहेको यादवले बताए । जनकनन्दनी गाउँपालिका विपद व्यवस्थापन समितिका फोकल पर्सन रबिभुषण मण्डलले विपदको बेला जोखिममा पर्ने बालबालिकाको लागि पालिकाले हरसम्भव सहयोग र संरक्षण गरिरहेको जानकारी दिए । विपद्को समयमा बालबालिकालाई अझ विशेष संरक्षणको आवश्यकता पर्नुको साथै घटना व्यवस्थापनका चरणहरुबारे सहजकर्ता राईले जानकारी गराए । तीन दिने क्षमता अभिवृद्धि तालिममा सिकेका कुराहरु व्यवहारिक रुपमा आ–आफ्नो कार्यक्षेत्रमा लागु गर्नुका साथैं बालबालिकाको हकहित र संरक्षण गरिने आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारीले बताइन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech