जनकपुरधाम । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले दलित, पछाडि पारिएका वर्ग र सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

अन्तराष्ट्रिय साक्षरक्षता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गरेर मन्त्री तिवारीले लैंगिक असमानताले उत्पन्न साक्षरता दरको असन्तुलन व्यवस्थापन गर्नको लागि प्रदेश सरकारले महिला साक्षरतालाई थप प्रोत्साहित गर्ने बताएकी छिन् ।

प्रदेशलाई पूर्ण साक्षर प्रदेशमा परिणत गर्न सरकारले मुख्यमन्त्री साक्षरता अभियान संचालन गरेको शुभकामना सन्देशमा उल्लेख छ । साक्षरताबाट नै सबैखाले सार्थक तथा सकारात्मक परिवर्तनका लागि आधारशीला निर्माण हुने भएकाले भुईं तहसम्म साक्षरता अभियान संचालन गर्ने प्रदेश सरकारको योजना रहेको उनले भनेकी छिन् ।

मानवको सर्वाङ्गिन विकासका लागि चाहिने मानवीय चेत तथा विवेक प्रस्फुटन तथा विस्तार गर्ने दायित्व निर्वहन गर्न प्रदेश सरकार तत्पर रहेको मन्त्री तिवारीले बताएकी हुन् ।

प्रदेशमा साक्षरताको अवस्था तुल्नात्मक रुपमा कमजोर रहेको बताउँदै उनले केही वर्षयता भने यसमा सुधार आएको बताएकी छिन् ।
सुधारको गति र उपलब्धि सन्तोषजनक नरहेकाले तीव्रताका साथ साक्षरता दर बढाउने चुनौती सरकारसँग रहेको शुभकामना सन्देशमा भनिएको छ ।

यसप्रकारको चुनौतीको सामना गर्न संघीय र स्थानीय सरकारसित समन्वय गरेर एकीकृत प्रयास गर्ने मन्त्री तिवारीले भनिन् । विगतमा साक्षरता दर बृद्धि गर्नको लागि संचालन गरिएको साक्षरता अभियानलाई सबै तहको सरकारबीच सहकार्य गरेर थप संस्थागत र सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता समेत गरेकी छिन् ।

सम्बन्धित खवर