जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा पालिकास्तरीय एक दिने बालविवाह मुक्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत स्थानीय बिलट किसुन प्रगतिशिल आधारभूत विद्यालय हठ्ठीपुरमा सरोकारबालाहरुको उपस्थितिमा सो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सो अन्तरक्रिया कार्यक्रममा बालबालिका, बालअधिकार र बालविवाह विरुद्धको कानूनी प्रावधानहरु सम्बन्धमा छलफल भएको थियो ।
२०७८ माघदेखि २०७९ पुषसम्म र २०७९ माघदेखि २०८० पुषसम्म शहीदनगर नगरपालिकाको बालबिवाहको तथ्यांक प्रस्तुत गरिएको थियो ।
२०७८ माघदेखि २०७९ पुषसम्ममा बालबिवाहको अवस्था ५० प्रतिशत थियो भने २०८० पुषसम्ममा सो घटेर ३९ प्रतिशतमा झरेको छ ।
त्यस नगरपालिकामा बालबालिकाहरुको जन्मदर्ता गराउने अवस्था ९९ प्रतिशत छ भने ८५ प्रतिशतले विवाह दर्ता गराउने गरेको तथ्यांकले देखाएको छ ।
शहिदनगर नगरपालिका वडा नं.–१ को चिरैया टोल र वडा नं.–३ को महरा टोल बालबिवाह मुक्त र सत्प्रतिशत विद्यालय भर्ना घोषणाको तयारीमा जुटेको छ ।
दुई वटै टोलहरु आउँदो असोज १५ गतेसम्ममा घोषणा गर्ने स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाए ।
बालबिवाह न्यूनीकरण परियोजनाले बालबिवाह घटेको साथै समुदायमा सचेतना स्तर बढेको सरोकारबालाहरुले बताए ।
बालबिवाह सामाजिक तथा कानूनी अपराध रहेकाले यसविरुद्ध समुदाय एकजुट भएर अघि बढ्नुपर्ने धारणा सरोकारबालाहरुले राखेका थिए ।
उनीहरुले बालबिवाहको विरुद्धमा समुदायमा आधारित अभिमुखिकरण, अन्तत्र्रिmया जस्ता कार्यक्रमहरु अझ बढाउनुपर्ने सुझाव दिएका थिए ।
बिलट किसुन प्रगतिशिल आधारभूत विद्यालय हठ्ठीपुरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं.–६ का वडा सदस्य रोशनकुमार यादवको अध्यक्षता तथा शहिदनगर नगरपालिकाका नगर उपप्रमुख सुनिता सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन आसमान नेपालका फिल्ड सुपरभाइजर ब्रह्मदेव यादवले गरेका थिए भने सहजीकरण शिक्षा–प्राविधिक संयोजक श्री घुरन यादवले गरेका थिए ।

सम्बन्धित खवर