जनकपुरधाम । धनुषासहित मधेश प्रदेशका जिल्लाहरुमा ६०औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरि मनाइएको छ । धनुषाको मिथिला नगरपालिका, पर्साको वीरगंज महानगरपालिका, सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउँपालिका र सिरहाको सिरहा नगरपालिकामा विविध कार्यक्रमहरु गरेर बाल दिवस मनाइएको हो ।
मिथिला  नगरपालिकामा बाल दिवसको अवसरमा शनिबार वृहत्त र्याली आयोजना गरिएको छ ।
‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ बालबालिकाहरुले नगरमा जनचेतनामूलक र्याली निकालेको हो ।
लाइफ नेपाल, नगर बाल संजाल, नेपाल प्रहरी धनुषा, टीपीओ नेपाल र द एशिया फाउण्डेशनको सहकार्यमा मिथिला नगरपालिकाले आयोजना गरेको सो र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
यस्तै, सिरहाको सिरहा नगरपालिकामा नगरस्तरीय वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको हो । लाइफ नेपालसहित स्थानीय संघसंस्थाहरुको सहयोगमा पालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा उत्कृष्ट गरेका बालबालिकाहरुलाई पुरस्कृत गरिएको थियो ।


पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा बाल दिवसको अवसर पारेर आमजनतालाई सचेत पार्ने उद्येश्यले सडक नाटक प्रदर्शन गरिएको छ ।
बालबालिकाहरुको जीवन्त अभिनयबाट प्रभावित वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उनीहरुको प्रशंसा गरे । समाजमा यस प्रकारको अभियानको आवश्यक्ता नगर प्रमुख सिंहले औंल्याए ।


बालबालिकाको अभिनयबाट प्रभावित भएर नगर प्रमुख सिंहले आमनागरिकलाई सचेत पार्ने अभियानमा पालिकाले हरसम्भव सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाए ।
यस्तै सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा पनि जनचेतनामूलक र्याली निकालिएको छ ।
लाइफ नेपालको सहयोग तथा वडा नं. ६ को समन्वयमा सामुदायिक आधारभूत विद्यालय मोहनपुरले आयोजना गरेको र्यालीमा बालबालिका, शिक्षकहरुको सहभागिता रहेको थियो । र्यालीले टोलको विभिन्न सडकको परिक्रमा गरेर विद्यालयमा फर्केर सम्पन्न भएको थियो ।

वि.स. २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमित रूपमा मनाउन थालेको पाइन्छ ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको थियो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालिएको हो । सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।
संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

सम्बन्धित खवर