जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल, मधेश प्रदेश संसदीय दलको नेता आफूखुशी बनेका पूर्वमन्त्री जीतेन्द्र सोनललाई पार्टीबाट निष्कासित गर्ने चेतावनी दिएको छ ।
पार्टी विधान विपरित मधेश प्रदेश संसदीय दलको बैठक बोलाएर आफैलाई संसदीय दलको नेता घोषणा गराएपछि नेता सोनललाई पार्टी केन्द्रीय कार्यालयले निष्कासित गर्ने चेतावनी दिएको हो ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले आइतबार साँझ विज्ञप्ति जारी गरेर तीन दिन भित्र चित्तबुझ्दो लिखित जवाफ मागेका हुन् ।
सो अवधिभित्र सन्तोषजनक लिखित जवाफ नआएमा पार्टीबाट निष्कासितसम्म गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएको हो ।
अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा पार्टीको निर्देशन विपरित आफूले बैठक राखेर आफैलाई संसदीय दलको नेता घोषणा गराएको आरोप सोनलमाथि लगाइएको हो ।
अभिराम शर्माको स्थानमा आफूलाई संसदीय दलको नेता चयन गराउन सफल सोनलले विधान विपरित कार्य गरेको भन्दै अध्यक्ष ठाकुरले स्पष्टीकरण मागेका हुन् ।


पार्टीको अनुशासन र विधान विपरित नेता सोनलले प्रदेशसभा सदस्य जयनुल राइनको अध्यक्षतामा संसदीय दलको बैठक बोलाएर आफूलाई दलको नेता घोषणा गराएको लोसपा, नेपालका केन्द्रीय अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टी संसदीय दलका नेता अभिराम शर्मा नै रहेको केन्द्रीय अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


नेता सोनलले एक्कासी संसदीय दलको नेतामा आफूलाई चयन गराएपछि केन्द्रीय अध्यक्ष ठाकुरले एकपछि अर्को गरी छुट्टाछुट्टै दुई वटा विज्ञप्ति जारी गरेर दलको नेतामा शर्मालाई निरन्तरता दिन मधेश प्रदेशसभालाई समेत आग्रह गरेका हुन् ।
नेता सोनललाई संसदीय दलको नेता चयन नगरिएको भन्दै यसलाई आधिकारिक नमान्न अध्यक्ष ठाकुरले प्रदेशसभालाई आग्रह गरेका हुन् ।
आइतबार प्रदेशसभामा लोसपा नेपाल संसदीय दलको कार्यालयमा जयनुल राइनको अध्यक्षतामा बसेको बैठकमा सोनललाई दलको नेता चयन गरेको समाचार समाजिक संजालमार्फत सार्वजनिक भएको थियो ।
सामाजिक संजालमार्फत समाचार सार्वजनिक भएलगत्तै लोसपा केन्द्रीय कार्यालय सक्रिय हुँदै यस प्रकारको कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

सम्बन्धित खवर