जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा वृहत्तर यौनिकता शिक्षा सम्बन्धी पाँच दिने तालिम मंगलबार सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत विद्यालयका शिक्षक शिक्षिकाहरुलाई यौनिकता सम्बन्धी तालिम दिएको हो ।
यौनिकता शिक्षालाई हाम्रो समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गरी सो शिक्षालाई अहिलेका किशोरकिशोरी तथा बालिबालिकालाई विद्यालय शिक्षा मार्फत परिवर्तन गर्ने उद्देश्यले सो तालिम प्रदान गरिएको आसमान नेपालका प्राविधिक संयोजक रामकुमार महराले बताए ।
अहिले पनि नेपाली समाजमा यौनिकता शिक्षाबारे खुलेर बहस हुने नगरेकाले बालबालिका तथा किशोरकिशोरीहरु यसबारे अनभिज्ञ हुने गरेका छन् । जसका कारण उनीहरुले विभिन्न प्रकारको शारिरिक समस्याहरुबाट गुज्रिनुपर्ने बाध्यता छ ।
विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरी किशोरकिशोरी र बालबालिकालाई यसबारे सुचित गर्ने उद्देश्यले उक्त तालिम प्रदान गरिएको महराले बताए ।

तालिममा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, एवं बृहत यौनिकता शिक्षा र त्यसका आठ अवधारणाको विषयमा छलफल गरिएको जनकनन्दनी गाउँपालिकाका मावि दुहबी गोबराहीका शिक्षक ओमप्रकाश ठाकुरले बताए ।
किशोरावस्था र उनीहरूको आवश्यकता, बृहत् यौनिकता शिक्षा र यसको औचित्य, लैङ्गिकताको समझ, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयहरूमा प्राप्त गरेको जानकारी विद्यालयमा लागू गर्ने जनकनन्दनी गाउँपालिकाका श्रीशंकर मावि बनरझुल्लाका शिक्षिका तेतरी कुमारी साहले बताइन् ।
बढ्दै गइरहेको हिंसा, सहमति, गोपनीयता र सूचना एवं संचार प्रविधिहरूको सुरक्षित प्रयोगबारेमा छलफल गरि, हिंसा र यसबाट सुरक्षित रहने कुराहरूको विषयमा जानकारी पाएको शिक्षक रविन्द्रकुमार साहले बताए ।
विदेह नगरपालिकाका पाँच माविसहित ६ र जनकनन्दनी गापाका चार माविसहित ६ गरी १२ विद्यालयका २४ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको तालिम गएको भदौ २८ गतेदेखि मावि बेलापट्टीमा सुरु भएको आसमान नेपालका फिल्ड सुपरभाइजर रामविनय यादवले बताए ।
तालिममा पुनम यादव र गुलाबबाबु साहले सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर