जनकपुरधाम । वृहत्त विद्यालय सुरक्षा कार्यक्रमको समीक्षा तथा सिकाई आदानप्रदान बैठक मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ ।
युनिसेफको सहयोगमा आसमान नेपालले संचालन गरेको वृहत्त विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत धनुषा, सप्तरी र रौतहट जिल्लाको एक÷एक पालिका ५७ वटा विद्यालयमा विभिन्न कार्यक्रमहरु संचालन गरिएको हो ।
विपद्को जोखिममा रहेका तीन वटै पालिकाका सामुदायिक विद्यालयका बालबालिका र शिक्षकहरुलाई यसबाट जोगिन सुरक्षा सम्बन्धी विभिन्न तालिमहरु प्रदान गरिएको छ ।
धनुषाको धनौजी गाउँपालिका, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र रौतहटको राजदेवी नगरपालिकामा एक वर्ष अघि उक्त परियोजना अन्तर्गत भूकम्प, आगलागी, बाढी, हावाहुरीको बेला ज्यान जोगाउन अपनाउनुपर्ने आवश्यक सतर्कताबारे बालबालिका र शिक्षकहरुलाई जानकारी गराएको हो ।
यसका लागि ती विद्यालयहरुमा विपद्को बेला अपनाउनुपर्ने आवश्यक सतर्कताबारे अभ्यास समेत गरिएको आसमान नेपालका कार्यक्रम प्रबन्धक विजयकुमार यादवले बताए ।
समीक्षा बैठकमा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख चेतकुमार पोखरेलले विद्यालयको सुरक्षा समाजसहित सबैको दायित्व रहेको बताए ।
शिक्षक वा विद्यालय प्रशासनले गर्दा नै विद्यालयको सुरक्षा सम्भव नरहेको जिकिर गर्दै पोखरेलले यसमा स्थानीय प्रशासन, प्रहरी लगायत सरोकारबाला सबैको सहयोग अपरिहार्य रहेको बताए ।
विद्यालय सुरक्षाबारे सबै निकायलाई सचेत पार्न आवश्यक रहेको बताउँदै पोखरेलले यसमा तीनै तहको सरकारले पनि चासो लिनुपर्ने आवश्यक रहेको बताए ।
सो अवसरमा शिक्षा विकास निर्देशनालयका उपसचिव किशोरी कापरले वृहत्त विद्यालय सुरक्षा कार्यक्रम संचालन भएको विद्यालयहरुमा सुधार आएको दावी गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
भौतिक पूर्वाधार कमजोर भए जतिसुकै तालिम लिएपनि त्यो जोखिमपूर्ण नै रह्ने कापरले बताए ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा समेत ध्यान दिनु जरुरी रहेको उनले बताए ।
विपद्को जोखिममा रहेका बालबालिकालाई यसबाट जोगिन दिएको सुरक्षासम्बन्धी तालिम उपलब्धीमूलक रहेकाले यसलाई निरन्तरता दिनुपर्नेमा कापरले जोड दिए ।
सो अवसरमा शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत लक्ष्मण रामले सामुदायिक विद्यालयका बालबालिका जोखिममा रहेको स्वीकार गरे ।
भारतीय सीमासित टाँसिएको धनुषाका धनौजी गाउँपालिकाका बालबालिका थप जोखिममा रहेको उनले दावी गरे ।
सीमापारीको जोखिमका बीच विद्यालयको संरचना, बाटोघाटोको समस्याले बालबालिकालाई थप असुरक्षित बनाएको उनले बताए ।
हिलामय बाटो पार गरेर जाने गरेका बालबालिका पोखरीको खुला डिलमा बसेर पढ्नुपरेको छ, उनले भने–पोखरीमा डुब्ने जोखिम छ ।
सो अवसरमा आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश साहले बालबालिकालाई सुरक्षित राख्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।
समीक्षा बैठकको सुरुवातमै धनौजी गापा–५ की कल्पना महराले विद्यालय सुरक्षा कार्यक्रमको अनुभव सुनाइन् ।


सरस्वती राप्रावि झोझीकटैयाका शिक्षक पर्शुराम यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार मण्डलले कार्यक्रमको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरेको सन्दर्भमा सुरक्षाका सवाललाई पनि पालिकाहरु मार्फत् कार्य गर्न आवश्यक रहेको सहभागीहरुको सुझाव थियो ।
कार्यक्रममा यूनिसेफका इन्द्र गुप्ताले विद्यालयको सुरक्षा र सिकाइको विषयमा स्थानीय सरकारलाई नै जिम्मेवार बनाउँदै कार्य गर्न आवश्यक रहेको बताए ।

 

सम्बन्धित खवर