जनकपुरधाम । बालविवाह मुक्त पालिका÷क्षेत्र घोषणा विषयक परामर्श तथा समन्वय बैठक बुधबार जनकपुरधाममा सम्पन्न भएको छ । गर्ल्स फस्ट फण्डको सहयोग र खेलकूद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशको समन्वयमा लाइफ नेपालले आयोजना गरेको बैठकमा सरोकारबालाहरुले बालविवाह विरुद्धको अभियानमा सबै पक्षको सहयोग आवश्यक्ता औल्याएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बालविवाह अझै न्युनिकरण हुन नसकेको स्वीकार गर्दै यसको लागि सामूहिक प्रयासको आवश्यक्ता औंल्याए । कानूनीभन्दा व्यवहारिक जटिलता देखिएकाले बालविवाह विरुद्धको अभियानमा अभिभावकहरुको सहयोग आवश्यक रहेको उनले बताए । लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको बैठकमा उनले कानूनी प्रावधानलाई टेकेर अघि बढ्नुको विकल्प नरहेको बताए । व्यवहारिक पक्षलाई ध्यानमा राख्दा बालविवाह विरुद्धको अभियान प्रभावकारी बन्न नसकेको जिकिर गर्दै उनले कानूनी व्यवस्थालाई लागू गर्नुपर्नेमा जोड दिए । सो अवसरमा खेलकूद तथा समाज कल्याण मन्त्रालयका सचिव चुढामणि फुयालले बालविवाह विरुद्धको अभियान कुनै एक निकायको पहलले सफल नहुने तर्क गरे । सरकारले आफ्नो तवरबाट प्रयासरत्त छ, उनले भने–यसमा अभिभावकको पनि सहयोग जरुरी छ । अभिभावक सचेत नभएसम्म बालविवाह अन्त्य हुन नसक्ने भएकाले यसप्रति सबै निकायलाई गंभीर भई अघि बढ्नको लागि उनले आग्रह समेत गरे । मधेश प्रदेशमा बालविवाहको अवस्था भयावह रहेकाले यसको लागि सबै निकाय एकजुट भएर संयुक्त रुपमा अघि बढ्नुको विकल्प नरहेको सचिव फुयालले प्रष्ट पारे । सरकारले ल्याएको योजना र अभियानहरु सबैको सहयोगले मात्रै सफल हुने भएकाले यसमा सहयोगका लागि उनले आग्रह गरे । अन्य प्रदेशको तुलनमा बालविवाहको अवस्था मधेशमा भयावह रहेको तथ्यांकहरुले प्रष्टयाएकाले यसतर्फ गंभीर हुन जरुरी रहेको फुयालले बताए । तथ्यांकका अनुसार मधेशमा १८ वर्ष अगावै विवाह गर्नेको संख्या २९.३ प्रतिशत रहेको छ । बालविवाहको घटना बढ्दो रहेपनि प्रहरीमा दर्ता भएको तथ्यांक भने न्युन देखिन्छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार २०७९।०८० मा बालविवाह विरुद्धको १० वटा मुद्दा दर्ता भएको हो । २०८०।०८१ मा त्यो घटेर ९ मा पुगेको छ । जसमा ५ वटा मात्रै धनुषा जिल्लामा दर्ता भएको तथ्यांकले देखाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक संजीव यादवले प्रस्तुत गरेको बालविवाहको अवस्था र यसको कानूनी प्रावधान विषयक प्रस्तुतीमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बालविवाह विरुद्धको २ वटा मुद्दा दर्ता भएको हो ।
मधेश प्रदेशलाई आगामी सन् २०३० सम्म बालविवाह मुक्त घोषणा गर्ने तयारी अगाडि बढाइएपनि हालसम्मको प्रगतिले तोकिएको समयमा घोषणा हुनेमा शंका रहेको सरोकारबालाहरुको भनाइ छ । खेलकूद तथा समाज कल्याण मन्त्रालयका महिला तथा बालबालिका शाखा प्रमुख देवकुमारी खत्रीले सात वटै प्रदेशमा सबैभन्दा मधेशमा बालविवाहको घटना हुने गरेकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् । लाइफ नेपालका डाँँली शर्माले स्वागत मन्तव्य राखेका बैठकमा गल्र्स च्याम्पियन निषा आलेले बालविवाह विरुद्धको गीत प्रस्तुत गरेकी थिइन् । सो अवसरमा क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुकदेव यादव, मिथिला बिहारी नगरपालिकाका नगरप्रमुख राजेन्द्र यादव, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साह, मिथिला नगरपालिकाका उपप्रमुख सुनिता बुढाथोकी, शहीदनगर नगपालिकाका उपप्रमुख सुनिता सिंह, लक्ष्मीनियाँ गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी यादव लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech