जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले गुणस्तरीय शिक्षाका लागि तीनै तहका सरकारबीच समन्वयमा जोड दिएकी छन् ।
‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ शिक्षा तथा संस्कृति मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री तिवारीले शिक्षकको रिक्त दरबन्दी पूर्ती गरिदिनको लागि संघीय सरकारसित आग्रह गरिन् ।
एक जना शिक्षकले सय जना विद्यार्थी पढाउनुपर्ने बाध्यता छ, उनले भनिन्–यस्तोमा गुणस्तरीय शिक्षाको कल्पना पनि गर्न सकिदैन् । अन्य प्रदेशमा २६ जना विद्यार्थीमा एक जना शिक्षकको दरबन्दी रहेपनि मधेशमा त्यो बढेर सय जनामा एक जना शिक्षक रहेका छन् ।
संघीय सरकारले मधेशसित विभेद गरेको छ, उनले भनिन्–संघीय सरकारले तत्काल शिक्षकको रिक्त दरबन्दी पूर्ती गर्नुपर्छ ।
रिक्त दरबन्दी पूर्ती भएमा मधेश प्रदेशको शिक्षाको स्तरमा सुधार आउने विश्वास मन्त्री तिवारीले व्यक्त गरिन् ।
शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री तिवारीले शिक्षा क्षेत्रमा सुधार गर्न संघीय सरकारले गंभीरता नदेखाएको गुनासो गरिन् ।
शिक्षा क्षेत्रमा सुधार भएन्, उनले भनिन्–मात्र भाषणले सुधार हुन्छ र ? यसको लागि आवश्यक नीति र योजना बनाई अघि बढ्नुका साथै उपलब्ध ऐनको समेत पालना गर्नुपर्छ ।
कतै सहयोग नै सहयोग भएको छ । कतै बालबालिका बस्ने फर्निचर पनि छैन् । यस्तोमा गुणस्तरीय शिक्षाको परिकल्पना गर्न नसकिने तर्क गर्दै मन्त्री तिवारीले यसको लागि समान व्यवहारको आवश्यक्ता रहेको बताइन् ।
‘संसारको जुनसुकै कुनामा पुगे पनि बिक्न सक्ने अब्बल जनशक्ति उत्पादन गर्न समयसापेक्ष र प्रतिस्पर्धी पाठ्यक्रमको विकास गर्नुपर्छ,’ उनले भनिन्, ‘दक्ष जनशक्ति, व्यवसायिक र प्राविधिक शिक्षा प्रदान गर्नका लागि समयसापेक्ष नीति आवश्यक छ ।’


सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउन थालेको हो ।
सो अवसरमा प्रदेश नीति तथा योजना आयोगका सदस्य शिला मिश्र, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनारायण मण्डल, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण, राजर्षिजनक विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साह, नेपाल शिक्षक महासंघ धनुषाका अध्यक्ष सुरेश यादव लगायतले मधेशमा शिक्षाको अवस्थामाथि आफ्नो धारणा राखेका थिए ।
शिक्षा तथा संस्कृति मन्त्रालयका रामह्दय यादवले संचालन गरेको कार्यक्रममा लक्ष्मण रामले मधेश प्रदेशमा शिक्षाको वर्तमान अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।

सम्बन्धित खवर