जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–१ कुम्भकरन टोललाई बालविवाह मुक्त घोषणा गराउन अभियानीहरु सक्रिय भएका छन् । कुम्भकरनको लक्ष्मीनगर चोकमा आइतबार बालविवाह विरुद्धको र्याली र सरोकारबालाहरुसित अन्तरक्रिया कार्यक्रम गरिएको हो । प्लान इन्टरनेशनल नेपाल र आसमान नेसालको सहयोगमा शहीदनगर नगरपालिका वडा नं. १ को आयोजनामा वडास्तरीय बालअधिकार समितिले निकालेको बालविवाह विरुद्धको र्यालीमा आमजनतालाई सचेत पार्न विभिन्न नाराहरु लगाइएको थियो । लक्ष्मीनगरबाट सुरु भएको र्याली उक्त टोलको विभिन्न भागको परिक्रमा गरेको आसमान नेपालका फिल्ड सुपरभाइजर सविता साहले बताइन् । नेपाल सरकार र प्रदेश सरकारले सन् २०३० सम्म बालविवाह मुक्त घोषणा गर्न लिएको लक्ष्यमा सहयोग गर्दै आसमान नेपालले पूर्वी धनुषाका वडाहरुलाई बालविवाह मुक्त गराउन परियोजना संचालन गरेको छ । बालविवाह न्युनिकरण परियोजना अन्तर्गत जिल्लाको शहीदनगर नगरपालिका, सबैला, कमला, विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका वडाहरुलाई बालविवाह मुक्त गर्न अभियान संचालन गरिएको हो । सो अभियान अन्तर्गत बाल क्लव, परिवर्तनका संवाहक, द्रुत सिकाई केन्द्रका किशोर किशोरी, बालबालिकाहरुलाई समेत सक्रिय बनाइएको छ । उनीहरु नै बालविवाह विरुद्धको अभियानलाई अघि बढाइरहेका छन् । यसअघि शहीदनगर नगरपालिकाका अन्य वडाहरुमा समेत बालअधिकार समितिले बालविवाह विरुद्ध र्याली प्रदर्शन गरेका थिए । र्यालीपछि आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय अगुवाहरुले बालविवाह विरुद्धको अभियानमा सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । अन्तरक्रिया कार्यक्रममा स्थानीय अगुवासहित आसमान नेपालका फिल्ड सुपरभाइजर रंजिता यादव, निलम रानी, विजय सदा लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech